पाँचथर। कोरोना कहरका कारण गतवर्ष हुन नसकेको चौंरी महोत्सव यसवर्ष हुने भएको छ । यसवर्ष फालेलुङ गाउँपालिका–४ तीनसिमाना फालोट क्षेत्रमा वैशाख १ गते चौथो चौंरी महोत्सव हुने भएको हो ।

यसअघि फालेलुङ–४, कै चाररातेमा महोत्सव हुँदै आएको थियो । यसवर्ष भने करिब १५ किलोमिटर उत्तरमा अवस्थित तीनसिमाना क्षेत्रमा महोत्सव गर्न लागिएको हो ।

फालेलुङ कञ्चनजङ्घा पर्या–पर्यटन प्रवद्र्धन संस्था, दीपज्योति युवा क्लब र कञ्चनजङ्घा चौंरी पालन संरक्षण संस्थाको आयोजना तथा कञ्चनजङ्घा भू–परिधि संरक्षण तथा विकास पहलको सह–आयोजनामा महोत्सव गर्न लागिएको हो । महोत्सव प्रवद्र्धकको रूपमा फालेलुङ गाउँपालिका र फालेलुङ गाउँपालिका ४ नं. वडा रहेका छन् ।

चौंरीपालन व्यवसाय प्रवद्र्धनका लागि महोत्सव आयोजना गरिएको आयोजक संस्था दीपज्योति युवा क्लबका कार्यकारी निर्देशक सुनिल बान्तावा राईले बताए ।

महोत्सवमा चौंरी तथा याक प्रदर्शनी, चौंरीको दूधबाट उत्पादित वस्तुहरूको स्टल लगायत रहनेछन् । महोत्सवमा सहभागीले नेपालसँगै भारतको सिक्किम र वेष्ट बेङ्गाल, तीनसिमाना क्षेत्रको दृश्यावलोकन तथा गोठ–स्टेको अनुभवसमेत लिन सक्नेछन् । 

महोत्सव अवलोकनका लागि नेपालसँगै भारत र भूटानबाट समेत चौंरी र प्रकृतिप्रेमीहरू आउने आयोजकले जनाएको छ ।