विजयपुर। अवैधानिक रूपमा सात वर्षदेखि धरानमा सञ्चालित सुनचाँदीका गरगहना मापन गर्ने ‘टच मेसिन’ बन्द भएका छन् ।
वराह ज्वेलरी, बूढासुब्बा डाइस कटिङ सेण्टरका सञ्चालक विश्वजित मन्ना, गीता मन्दिर नजिक विजय मिसालले सञ्चालन गरेका सुनचाँदीको गुणस्तर मापन गर्ने मेसिन बन्द भएका हुन् । सुनचाँदीका गरगहना मापन गर्ने ‘टच मेसिन’ ले एउटै सामानको पनि फरक–फरक गुणस्तर देखाउँदा उपभोक्तादेखि व्यवसायीसम्म ठगिँदै आएका थिए ।
व्यवसायी र कालिगडहरूले गुणस्तर मापन गर्दा फरक–फरक गुणस्तर देखाएपछि ब्लाष्ट दैनिकले समाचार प्रकाशित गरेको थियो । समाचार प्रकाशित गरेपछि धरान उपमहानगरपालिकाले कानून विपरीत अनधिकृत रूपमा सञ्चालित ‘टच मेसिन’ बन्द गर्न सूचना प्रकाशित तथा माइकिङ गरेको थियो ।
सूचना प्रकाशित गरेपछि पनि गीता मन्दिर नजिकको मेसिन केहीदिन ‘सेटिङ छ’ भन्दै सञ्चालन गरेको थियो । पछिल्लो पटक समाचार प्रकाशित भएपछि भने उक्त मेसिन बन्द भएको छ । विजय मिसालले कानून विपरीत भएकाले बन्द गर्ने निर्णयमा पुगेको बताए ।
यता विश्वजित मन्नाले पनि अब मेसिन नचलाउने बताएका छन् । वराह ग्रुपले भने बन्द गरेको छ वा छैन आधिकारिक जानकारी आएन । वराह ज्वेलरीका प्रमुख सौराज लामिछानेले हाल उक्त मेसिन बन्द गरिएको जानकारी दिए ।
कालिगडहरूले केही समय बन्द गरे पनि पुनः सञ्चालन गर्ने सम्भावना रहेकाले पूर्ण रूपमा बन्द गर्नुपर्ने माग गरेका छन् । उनीहरूले ‘टच मेसिन’ बन्द गर्नुभन्दा पनि कानूनी मान्यताप्राप्त मेसिन प्रयोगमा ल्याउनुपर्ने बताएका छन् ।
व्यवसायी तथा सङ्गठनको दबाव
व्यावसायिक रूपमा ‘टच मेसिन’ सञ्चालन गरिरहेका विजय मिसाल र विश्वजित मन्नाले आफूले नचलाउने भन्दा पनि सङ्गठनका नेताहरूले चलाउन दबाव दिएको बताएका छन् ।
नेपाल सुनचाँदी व्यवसायी सङ्घ धरानका अध्यक्ष राजेश अग्रवालले पनि आफूहरूले सञ्चालन गर्न भनेको बताए । तर, सुनचाँदी व्यवसायी सङ्घले २ वर्ष पहिले ‘टच मेसिन’ खरिद गर्न लाग्दा कानूनी अड्चन भएकाले पछि हटेको थियो । अहिले उनीहरूले नै कानूनी मान्यता नपाएको मेसिनलाई सञ्चालनका लागि दबाव दिँदै आएका छन् ।
टच मेसिन सञ्चालकहरूले आफूलाई मेसिनको लागत दिएर आफूले सञ्चालन गर्नु भन्दा सङ्गठन तथा व्यवसायीहरूले अस्वीकार गरेको बताए । यसरी सुनचाँदीको गुणस्तर अवैधानिक मापन गर्ने मेसिन नै गुणस्तर हीन भएको थाहा पाउँदा पाउँदै मेसिन चलाउन व्यवसायी तथा सङ्गठनले नै दबाव दिनुको कारणबारे सोध्दा सुनचाँदी व्यवसायी सङ्घ धरानका अध्यक्ष राजेश अग्रवालले सुरुमा समाचार प्रकाशित भएपछि बन्द गरी प्रक्रिया पूरा गरेर मात्र सञ्चालन गर्न भनेको दाबी गरे ।
उनले प्रक्रिया पूरा गरेर सञ्चालन गर्न निर्देशन गरेको बताए । उनले आफूले सञ्चालन गर्न दबाव नदिएको दाबी गरे । धरानमा सुनचाँदी व्यवसायी सङ्घ २–३ वटा भएकाले अरू कसैले दबाव दिएको भए आफूलाई जानकारी नभएको उनले बताए । ‘टच मेसिन’ का सञ्चालकले भने आफूलाई २ वटा सङ्गठनका नेताहरूले सञ्चालन गर्न दबाव दिएको बताएका छन् ।