विजयपुर। धरान–६ पानवारीका धुलो पीडितहरूले धुलो नियन्त्रणका लागि सडकमा हम्प्स निर्माण गरेका छन् ।
मोरङको उत्तरी क्षेत्रमा सञ्चालित क्रसर उद्योगका गाडीहरू कुद्न थालेपछि सो क्षेत्रमा अत्यधिक धुलो उड्न थालेको हो । त्यसपछि स्थानीयवासीले कष्टकर जीवन जिउँदै आएका छन् ।
अत्यधिक धुलो उड्न थालेपछि स्थानीयले सडकमा ५ वटा हम्प्स निर्माण गरेका छन् । धुलो पीडित पहल समितिका संयोजक केशव गौतमले गाडी द्रुत गतिमा गुड्दा अत्यधिक धुलो उड्ने बताए ।
उनले सडकमा हम्प्स निर्माण भएपछि गाडीको गतिमा नियन्त्रण भई कम धुलो उड्ने र केही राहत मिल्ने बताए । उनले अहिले ५ वटा हम्प्स निर्माण गरेको बताए । थप ५ वटा हम्प्स निर्माण गर्ने योजना रहेको संयोजक गौतमले जानकारी दिए ।
स्थानीय धुलो पीडितहरूले ३ घण्टा चक्काजाम पनि गरेका छन् । अत्यधिक धुलो उड्ने सडकमा क्रसर व्यवसायीले धुलो नियन्त्रणका लागि दिनमा २ पटक पानी हाल्दै आएका थिए ।
व्यवसायीले शुक्रबार पानी नहालेपछि अत्यधिक धुलो उडेकाले ३ घण्टा चक्काजाम गरिएको संयोजक गौतमले जानकारी दिए । उनले शनिबार बिहान ७ बजेदेखि १० बजेसम्म चक्काजाम गरेको जानकारी दिए ।
स्थानीयको आन्दोलनपछि मात्र पानी हाल्ने गरेको बताएका छन् । पानी हालेको १ घण्टासम्म मात्र धुलो नउड्ने स्थानीयले बताए । १ घण्टापछि भने धुलो अत्यधिक उड्ने गरेको छ ।
मदन भण्डारी राजमार्ग निर्माण गर्ने भनिएको सडक–खण्डको सेहराखोलादेखि सरस्वती स्कुलनजिक दुर्गा चोकसम्म करिब ८ सय मिटर सडकमा अत्यधिक धुलो उड्ने स्थानीय देवेन्द्र दाहालले जानकारी दिए ।
करिब ८ वर्ष पहिले बनेको सडकमा कम सङ्ख्यामा यातायातका साधन गुड्दा कम धुलो उड्ने गरेको स्थानीय दाहालले बताए । उनले पानवारी पूर्व क्षेत्रमा क्रसर उद्योग सञ्चालन भई ठूलो सङ्ख्यामा टिपरलगायत यातायातका साधन गुड्न थालेपछि स्थानीयवासी पीडित बन्दै आएको बताए ।
त्यसपछि सडक चाँडै भत्किएको स्थानीयवासीले बताए । सडकको धुलोले सडकको दायाँ–बायाँ करिब ६ सय मिटरसम्म प्रत्यक्षरूपमा स्थानीयवासीलाई असर पार्ने गरेको छ । उक्त क्षेत्रका स्थानीयलाई धुलोका कारण श्वास–प्रश्वासको समस्या देखिन थालेको स्थानीयले बताए ।