पथरीशनिश्चरे । ‘भूमिहीन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबास आयोग’ मार्फत भूमिको लगत संकलन गरेपनि त्यसलाई सफ्टवेयरमा इन्ट्री प्रक्रियामा भनें समस्या देखिएको छ ।
लगत संकलन सकेर आयोगले निर्माण गरेको सफ्टवेयरमा तथ्यांक इन्ट्री गर्ने क्रममा मोरङमा समस्या भएको सम्बन्धित पालिकाका आयोगका इकाई कार्यालयहरुले जनाएका छन् ।
जिल्लाको पथरीशनिश्चरे, उर्लाबारी, मिक्लाजुङ, कानेपोखरी सहितका पालिकाहरुले सफ्टवेयरमा तथ्यांक इन्ट्री हुने कुरामा समस्या हुने गरेकाले काम अघि बढाउन अप्ठेरो परेको उल्लेख गरेका छन् ।
पथरीशनिश्चरेका आइटी अफिसर दीपकजंग गुरुङले डाटा भर्दै गएपछि अन्तिममा इरर आएर पुनः पहिलेकै अवस्थामा फर्किने गरेको समस्या जनाए । आफुहरुले एकसातादेखि तथ्यांक इन्ट्री गर्ने कोशिष गरिरहेको भएपनि एउटा समेत तथ्यांक इन्ट्री हुनै नसकेको बताए ।
उनले यस सम्बन्धमा आयोगको केन्द्रीय कार्यालयका आइटी अफिसरसँग सम्पर्क गरेर समस्या दर्शाए पनि सफ्टवेयरको समस्या समाधान नभएको सुनाए । उनले आफुहरुले यसबेला सफ्टवेयरमा इन्ट्री गर्न आवश्यक कागजातको स्क्यानिङ मात्र गरिरहेको उल्लेख गरे । नगरमा ९ हजार ७ सय वटा लगत संकलन फारमको तथ्यांक छ ।
उता, ५ हजार फारममा लगत संकलन भएको उर्लाबारीमा भनें पछिल्लो एकसातामा ३० वटा फारम सफ्टवेयरमा इन्ट्री भएको तथ्यांक प्रविष्टकर्ता देविन तामाङले बताए ।
उनले पहिलो एकसाता त कुनै पनि तथ्यांक इन्ट्री गर्न नसकिएपछि आयोगमा बारम्बार सम्पर्क गरेर सफ्टवेयरमा भएको समस्या केही हदसम्म सुधार भएपनि काम छिटो रुपमा अघि बढ्न भनें समस्या नै रहेको उल्लेख गरेका छन् ।
उनले लगत संकलन फारम र त्यसलाई सफटवेयरमा इन्ट्री गर्नुपर्ने महलमा एकरुपता नहुँदा भएको समस्या दर्शाउँदै भने ‘लगत संकलन गर्दाको फारममा आमाको नाम अनिवार्य उल्लेख भएको छैन तर सफ्टवेयरमा आमाको नाम, नागरिकता नम्बर अनिवार्य माग्छ । अनि नागरिकतामा टोल लेखिएको हुँदैन तर सफ्टवेयरमा टोल अनिवार्य लेख्नु पर्ने महलले समेत समस्या भइरहेको छ ।’
उनले सफ्टवेयरमा तत्काल सुधार गर्दै चाँडो भन्दा चाँडो इन्ट्री हुँदै जाने बनाउनु पर्ने सुझाव दिएका छन् । उनले थपे ‘त्यसैत इन्ट्री नै स्लो हुने गरेको सफ्टवेयरमा एउटा कुराको इडिटिङ गर्दा अरु डाटाहरु पनि उड्ने भएकाले सवै पुनः इन्ट्री गर्नुपर्ने भएकाले काम ज्यादै ढिलो हुने गरेको छ ।’
आयोगका जिल्ला सदस्य मोहन तुम्वापोले सफ्टवेयरमा क्रमिक सुधार गर्दै लगिएको जानकारी आएको र समस्या भएका विषयमा सुधारका लागि अनुरोध गरिरहेको बताए । उनले आयोगको बैठक बसेर अघिल्ला आयोगले गरेका अधुरा कामहरुका सम्बन्धमा जानकारी लिने काम थालिएको जनाए ।
पालिकाहरुमा बसोवास विवरण र तथ्याङ्क संकलन इकाई कार्यालय स्थापना तथा कर्मचारी नियुक्त गरी तथ्यांक संकलनको काम भएको छ ।