धरान । वाम्बुले राई समाज (वाम्रास) नेपाल, जिल्ला कार्य समिति सुनसरीले नेपाल टेलिभिजन इटहरी च्यानल प्रमुख पुष्पहरि क्याम्पा राईलाई सम्मान प्रदान गरेको छ ।

शनिबार धरानको किरात राई यायोक्खा भवनमा आयोजीत सम्मान कार्यक्रममा  सञ्चारकर्मी राईलाई वाम्बुले राई समाजका केन्द्रिय उपाध्यक्ष  गणेश वाम्बुले राईले फेटा, सम्मानपत्र र मायाको चिनो प्रदान गरेर सम्मान गरे । सञ्चारकर्म मार्फत समाजमा अमूल्य योगदान पु¥याएको र समुदायको शिर उँचो बनाएको भन्दै उनलाई सम्मान गरिएको हो । ३२ वर्षदेखि नेपाल टेलिभिजनमा कार्यरत राई तीन महिनायता इटहरी प्रमुखका रुपमा कार्यरत छन् । सम्मानीत भएपछि कार्यक्रममा बोल्दै उनले इटहरीमा बसेर काम गर्न पाउँदा आफुलाई आफ्नै घरमा आएको अनुभव भएको बताए । उनले टेलिभिजनमा सबै जाती, भाषाका चाडपर्व र उनीहरुसँग सम्बन्धित विषयलाई प्राथमिकता दिने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका नवनिर्वाचित अध्यक्ष जनकऋषि राईलाई बधाई तथा शुभकामना दिइएको थियो ।

समाजले १२ औं राष्ट्रिय जनगणना २०७८का सन्दर्भमा प्रशिक्षण पनि दिएको छ । समाजका उपाध्यक्ष गणेश वाम्बुले र दोर्पध्वज राईले जनगणना बारे प्रशिक्षण दिएका छन् । समाजका सुनसरी सचिव लाखमान राईको अध्यक्षतामा भएको कार्यक्रममा संयोजक शुभचन्द्र राई, विशेष अतिथी किरात राई यायोक्खा सुनसरीका अध्यक्ष बलराम राई, समाजका सल्लाहकार रामकर राई लगायतले बोलेका थिए । 

आउँदो जेठ २५ गतेदेखि असार ८ गतेभित्र हुने १२औं राष्ट्रिय जनगणनामा वाम्बुले राईको वास्तविक संख्या उल्लेख गर्ने उद्देश्यले समाजले जतिको महलमा ‘राई’, पुर्खाको भाषामा ‘वाम्बुले’ मातृभाषामा ‘वाम्बुले’, दोस्रो भाषा ‘छिमेकमा बोलिने कुनै एक भाषा’ र धर्ममा ‘किरात’ लेखाउन आग्रह गरेको छ । राष्ट्रिय जनगणना २०५८ ले पहिलो पटक वाम्बुले भाषा बोल्नेको संख्या ४ हजार ४ सय ७१ जना देखाएको थियो । जनगणना २०६८ मा वाम्बुले भाषा बोल्नेको संख्या १३ हजार ४ सय ७० अंकित भएको थियो । देशविदेश गरी ५० हजारभन्दा बढी वाम्बुले राईहरु रहेको वाम्बुले राई समाज नेपालको दावी छ ।