ब्लाष्टखबर । चितवनकाे माडीस्थित अयोध्यापुरीमा स्थापना गरिने राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिलाई विधिवतरूपमा पूजा गरी चितवन पठाइएको छ ।
मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यले वैदिक अनुष्ठानसहितको मूर्तिहरूको पूजा गरी रथयात्रालाई बिदाई गरिएकाे छन् ।
यस अघि एक कार्यक्रममा चितवनकाे माडी स्थित अयोध्यापुरी राम जन्मभुमि भएकाे बताउँदै त्यस ठाउँलाई धार्मिक स्थलकाे रूपमा विकास गर्ने बताएका प्रधानमन्त्री ओलीले रामनवमीको दिन अयोध्यापुरीमा मूर्ति प्रतिस्थापन गर्ने घोषणा गरेका थिए ।
साेहि अनुरूप भक्तपुरका कालीगढहरूले बनाएकाे राम, सीता, लक्ष्मण र हनुमानको मूर्तिकाे साधुसन्त र पूजारीहरूसमेतकाे उपस्थितीमा वैदिक अनुष्ठानसहित पुजा गरी फूलमालाले सजाएर ४ वटा गाडीमा राखेर मूर्ति चितवन पठाइएको हो ।
उक्त मूर्तिकाे बिदाई गर्न नेकपा एमाले संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङ, संस्कृति तथा पर्यटन मन्त्री भानुभक्त ढकाल, शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ लगायतको उपस्थिति थियो ।
