मुस्लिम समुदायको सार्वजनिक बिदा कटौती गरेकोमा आपत्ति जनाउँदै सङ्घीय लोकतान्त्रिक मञ्चमा सम्बद्ध सङ्घीय लिम्बुवान मञ्च नेपाल सुनसरीले प्रधानमन्त्री कार्यालयलाई ज्ञापन–पत्र पठाएको छ ।
ज्ञापन–पत्रमा नेपाल सरकारले चैत ९ गते प्रकाशित राजपत्रमा मुस्लिम समुदाय सार्वजनिक बिदा कटौती गरेको उल्लेख छ । मञ्चले राज्यले सबै धर्म, जाति, वर्ग क्षेत्रलाई दिएको सार्वजनिक बिदालाई पुनः लागू गर्नुपर्ने माग गर्दै ध्यानाकर्षण पत्र पठाएको हो ।
मञ्चका सुनसरी अध्यक्ष अमर इजम लिम्बू र सचिव निर्मल राईद्वारा हस्ताक्षरित पत्रमा मुस्लिम सुमदायको सार्वजनिक बिदा कटौती गर्दा उनीहरूको भावनामा गम्भीर ठेस पुगेको बताइएको छ ।
नेपालका विभिन्न जाति समुदायको भावनामाथि ठेस पुग्ने गरी विशेष जाति र धर्मलाई प्रश्रय दिँदै विभेद गरिएको मञ्चले जनाएको छ । मञ्चले प्रकाशित राजपत्रलाई खारेज गरी मुस्लिम समुदायको पर्वहरूको सार्वजनिक बिदालाई सम्बोधन गर्नुपर्ने माग गरेको छ ।
धर्म निरपेक्षको भावनालाई सम्मान गर्दै सबै जाति विशेषका चाडपर्वहरूमा सार्वजनिक बिदा दिनुपर्ने माग गरिएको छ । राज्य पूर्वाग्रही भएको मञ्चको आरोप छ । मञ्चले जिल्ला प्रशासन कार्यालय सुनसरीमार्फत् ज्ञापन–पत्र प्रधानमन्त्रीलाई पठाएको हो ।