पथरीशनिश्चरे। मोरङको पथरी शनिश्चरे नगरमा पछिल्लो पटकको कोरोना भाइरसको संक्रमणबाट १२ जना संक्रमित भएका छन् ।

बुधबारसम्ममा विभिन्न अस्पतालहरुमा पीसीआर प्रविधिबाट परीक्षण गर्दा ६ पुरुष र ५ महिला गरी ११ जना र नगरको एन्टिजिन परीक्षणमा १ महिला गरी कुल १२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । १९ जनाको एन्टिजिन परीक्षण गरिएको थियो ।

संक्रमितहरुमा, वडा नम्बर १ का २ महिला, २ का १ पुरुष, ४ का १ पुरुष, ५ का १ पुरुष, ६ का १ पुरुष र १ महिला, ७ को १ महिला, ९ का २ पुरुष र १ महिला रहेका छन् ।

तर परीक्षण नगरी घरमा बसी संक्रमित हुनेहरुको संख्या अझ धेरै रहेको उल्लेख छ । कोरोनाको संक्रमण बढ्न थालेपछि दैनिक दुई चरण गरेर विद्यालयका परीक्षा सम्पन्न गरी पठनपाठन बन्द गराइएको छ ।

नगर प्रमुख दिलीपकुमार राई र उपप्रमुख यमुना विष्ट वास्तोलाले संक्रमणबाट बच्न भीडभाड नगरी कम्तिमा डेढ मिटरको दूरी कायम गर्ने, मास्क लगाउने तथा साबुनपानी र सेनिटाइजरले हात सफा गरिरहने सहितका सरकारले तय गरेको स्वास्थ्य मापदण्ड पुरा गर्न नगरवासीलाई अनुरोध गरेका छन् ।

संघीय सरकारको निर्णय बमोजिम सिनेमा हल, पार्टी प्यालेस, सभा सम्मेलन, साप्ताहिक हाट बजार, डान्सबार, स्वीमिङ पुल, हेल्थ क्लब, रंगशालामा हुने खेल गतिविधि एवम् २५ जना भन्दा बढी भेला हुनेखाले कार्यक्रम वैशाख १४ बाट नै सञ्चालन नगर्न नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिले निर्णय गरेको छ ।

यस नगर क्षेत्रमा स्थायी बसोबास भई बैदेशिक रोजगारीबाट घर फर्कनेले अनिवार्य रुपमा कम्तिमा १० दिन होम क्वारेन्टाइनमा बस्नु पर्ने यसअघि नै निर्णय गरेको छ । नगर अस्पतालको निर्माण सम्पन्न भएको नयाँ भवनलाई आइसोलेसनका रुपमा सञ्चालन समेत गरिने तयारी भइरहेको छ ।