सङ्खुवासभा। राष्ट्रिय पुनः निर्माण प्राधिकरणबाट आवास पुनः निर्माण अनुदान अन्तर्गत आएको रकम दिलाउनका लागि प्राधिकरणका कर्मचारी र बिचौलियाको मिलेमतोमा पीडितहरूबाटै रकम असुली गरेको पाइएको छ ।
सङ्खुवासभाको चिचिला गाउँपालिकाका ५ जनाबाट प्राधिकरणका कर्मचारी र स्थानीय अगुवाले १ लाख ३० हजार लिएको खुलेको हो । चिचिला गाउँपालिका वडा नं. ४ का लक्ष्मण गुरुङ भनिने रत्नबहादुर गुरुङ, राजकुमार गुरुङ र पुनः निर्माण प्राधिकरणका चिचिला गाउँपालिका सहायक उप इञ्जिनियर विजय घर्ती मगरले लाभग्राही पीडितबाट रकम लिएको पाइएको हो ।
उनीहरूले गत आर्थिक वर्षमा लाभग्राही सूचीमा रहेका रिठ्ठुमान राई, कालीबहादुर राई र जितबहादुर राईबाट मात्रै एक लाख लिएका थिए । लक्ष्मणले लाभग्राहीको घरमा गएर प्राविधिकलाई पैसा नदिए आफूले पाउने पैसा नपाउने भन्दै धम्कीसहित रकम लिएको पीडित लाभग्राहीको भनाइ छ ।
५५ हजार रुपैयाँ बुझाएका रिठ्ठुमानले ५० हजार प्राविधिक घर्ती मगरलाई उनकै कोठामा र लक्ष्मणलाई ५ हजार उनकै घरमा पु¥याइदिएको बताए । ७० वर्षीय जितबहादुर राईले प्राविधिक मगरलाई उनकै क्वार्टरमा लगेर ४० हजार बुझाएका थिए भने कालीबहादुर राईले ५ हजार बुझाएका थिए । उनले घरैमा लक्ष्मण र प्राविधिक मगर आएर घरमा पालेको ठूलो कुखुराको भाले र पाँच हजार नगद मागेर लगेको बताए । भनेको रकम नदिए अन्तिम किस्ता रकम नदिने भन्दै धम्कीसहित रकम असुली गरेको लाभग्राहीको भनाइ छ ।
चालु आर्थिक वर्षमा लाभग्राही सूचीमा परेका ८ घरबाट रकम असुली गर्ने क्रममा प्राविधिक र स्थानीय बिचौलियाले निरिह नागरिकबाट रकम असुल्ने गरेको खुलेको हो । यसपटक लाभग्राही सूचीमा परेका वडा नं. ४ बाट रकम उठाउन स्थानीय बिचौलिया राजकुमार गुरुङ र किशोर गुरुङ लागिपरेको खुलेको छ । राजकुमारले ८ घर लाभग्राहीहरूमध्ये लिट्ठाबहादुर गुरुङ र उर्मिला बर्देवासँग १५ हजारका दरले रकम उठाएका थिए ।
उनीहरूले विगतबाट लाभग्राहीबाट उठाएको रकम फिर्ता गराउन थालेका छन् । शुक्रबार गाउँपालिकामा गुनासो लिएर आएका लाभग्राहीहरूको प्राविधिक घर्ती मगर र दलालहरू लक्ष्मण गुरुङ र राजकुमार गुरुङबाट १ लाख ३० हजार रकम फिर्ता गराइएको छ । गाउँपालिका अध्यक्ष शेर्पाले जति पनि लाभग्राहीहरुको रकम लिईएको छ त्यो फिर्ता गराउन पहिलो पहल रहने र बाँकी कानुनी हिसाबले कारबाही भई जाने बताए ।
गाउँपालिकाभित्रका विभिन्न क्षेत्रका लाभग्राहीबाट रकम असुलेको हुन सक्ने भन्दै यसरी रकम लिएको भए गाउँपालिकामा सम्पर्क गर्न सकिने बताइएको छ । विभिन्न वहानामा रकम लिने कर्मचारीसँगै उनलाई सघाउनले स्थानीय गद्दार रहेको पालिका अध्यक्ष पासाङ नुर्वु शेर्पाको भनाइ छ ।
गाउँपालिकाका माथिल्लो तहका कर्मचारीलगायतलाई दिनुपर्ने, नदिए दोस्रो किस्ता रकम नआउने भन्दै पहिलो किस्ता भुक्तानी हुने बित्तिकै कर्मचारी र दलालहरू रकम सङ्कलनमा सक्रिय भएका थिए । उनीहरूको सक्रियता बढेसँगै लाभग्राहीहरूले गाउँपालिका अध्यक्ष शेर्पासमक्ष गुनासो गरेपछि यो विषय बाहिरिएको हो ।
गाउँपालिका अध्यक्ष शेर्पाले पालिकाभित्र भ्रष्टाचार, अनियमितता हुन नदिने भन्दै विगतबाट नै घोषणा गर्दै आएका थिए । उनले यस पटकको गुनासो आएको भए पनि गत वर्षदेखि नै यस्तो रकम असुल्ने गरेको खुल्दै गएको बताए । ‘को को लाभग्राहीबाट यसरी रकम लिइएको छ, सबैको फिर्ता गराइनेछ र आगामी दिनमा यस्ता घटना हुन दिँदैनौं’–अध्यक्ष शेर्पाले सुझाए ।
प्रशासकीय अधिकृत शुक्रादेवी राईले अनियमितता भ्रष्टाचार, रकम असुलीजस्ता अपराधमा आफ्ना कार्यालयको कर्मचारीहरू संलग्न छन् भने त्यस्तालाई कारबाहीको दायरामा ल्याउन कुनै कसर बाँकी नराख्ने उनको भनाइ छ ।