बिर्तामोड । झापा प्रहरीले ठुलो परिमाणमा प्रतिबन्धित लागूऔषध ओसार–पसारमा संलग्न दुई महिलासहित चारजनालाई पक्राउ गरेको छ ।

झापाको गौरीगञ्ज नाकाबाट नेपाल ल्याउदै गरेको अवस्थामा प्रहरीले ब्राउन सुगर तस्करीमा संलग्न दुई महिलालाई पक्राउ गरेको जनाएको छ ।

गौरीगञ्ज सिमा प्रहरी चौकी र सशस्त्र प्रहरी कार्यालयको संयुक्त टोलीले शनिबार राती शंका लागि चेकजाँच गर्दा ४४ ग्राम ३०० मिलिग्राम लागूऔषध ब्राउन सुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

ब्राउन सुगरसँगै दमक–१ बस्ने मञ्जु धिमाल र सोही ठाउँकी बिमला धिमाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । शरिरको संवेदनशिल अंगमा लुकाएको अवस्थामा शंका लागेर खानतलासी गर्दा सो परिमाणको ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए ।

यस्तै भद्रपुरमा एकजना भारतीय नागरिकलाई ब्राउन सुगर सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । भारतको किसनगञ्ज घर भएका श्रवण रायलाई प्रहरीले पक्राउ गरेको छ । उनको साथबाट २१ ग्राम २६० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रवक्ता थापाले जानकारी दिएका छन् ।

भद्रपुर नगरपालिका–३ का खेमराज कुँवरको साथबाट पनि लागूऔषध बरामद भएको प्रहरीको भनाई छ । प्रहरीले उनको साथबाट एस्कब ३ बोतल र नाइट्रोजन ट्याबलेट एक पत्ता बरामद गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसंधान गरिरहेको थापाले जानकारी दिए ।