इनरुवा । सफा र चिटिक्क परेको सडक । झिलिमिली बत्ती अनि सडक किनारमा बनाइएका चौतारी । फूलबारी र सजावटले सुन्दर देखिएको छ, सडक ।
त्यही स्थान जहाँ केही समय अघिसम्म बिस्कुन सुकाउने गरिन्थ्यो । सडकमा पेटीमा फोहोर थुपार्ने गरिन्थ्यो । तर, आजभोलि भने अवस्था बदलिएको छ । त्यो विगत फेरिएको छ ।
फेरिएको विगत र बदलिएको परिवेशसँगै नगरवासीलाई जागरुकसमेत बनाएको छ । विकासमा साझेदारीको भाव झल्काएको छ ।
प्रसङ्ग हो, इनरुवा नगरपालिका क्षेत्रमा सिँगारिन थालेका सडकको । जहाँ यतिबेला सडक सिँगार्ने होडबाजी चलेको छ । देखाइ र सिकाइलाई अनुशरण गर्दै जाँदा विभिन्न चार स्थानका सडक, सडक किनार र पेटी झकिझकाउ पारिएका छन् । अन्य खण्डका सडकमा समेत आवश्यक तयारी अघि बढाइएको छ ।
सखुवागाछी चोक, अदालत रोड, जिसस रोड, बबिया सडक र माझीटोल जसको ज्वलन्त उदाहरण हो । ती सबै सडक–खण्डमा साँझ र बिहान डुल्न र घुम्न पुग्नेको सङ्ख्या बढेको छ । जसले आन्तरिक पर्यटनलाई बढावा दिने प्रशस्त सम्भावना जगाएको छ ।
केही वर्षअघि इनरुवाका स्थानीय युवा राकेश निरौलाले अघि सारेको सोच नगरमा यतिबेला अभियानका रूपमा अघि बढेको देख्न सकिन्छ । सिर्जनात्मक कार्य गर्न रुचाउने निरौलाले अघि सारेको भिजनलाई नगरमा पहिलो पटक भने सखुवागाछीका स्थानीयले कार्यान्वयनमा ल्याएका थिए ।
त्यसबेला सन्तोष भट्टराईसहितका युवालगायतको पहलमा ड्रममा फूल रोपी सडकमा डिभाइडरका रूपमा प्रयोगमा ल्याइएको थियो । जसलाई समयसापेक्ष स्थानीयले अभियानका रूपमा क्रमशः अघि बढाए ।
त्यसलगत्तै स्वयम् निरौलाले दाता किरण निरौलाको सहयोगमा सडक श्रृङ्गारको परिस्कृत सोचलाई साकार बनाए । महेन्द्रचोकमा दुई दर्जन बढी सिमेण्टका ठूला गमलामा फूल रोपिए । सडकका दायाँ–बायाँ पार्क र फलैंचा समेत बनाइए । युवाहरूको सो कार्यले नगरमा सबैको ध्यान खिच्यो । फलस्वरूप सडक श्रृङ्गारको परिष्कृत शैली स्ट्रिट पार्कको अवधारणा विकास हुन पुग्यो ।
फलस्वरूप भकाभक पार्क निर्माण थालिए । एकपछि अर्को गर्दै रङ्गीचङ्गी बत्ती र फूलबारीसहितका संरचना निर्माण थालिए । झकिझकाउ सडक खण्डमा फुडस्टल समेत सञ्चालनमा ल्याइएका छन् ।
अदालत रोडमा झण्डै १३ लाख लागतमा निर्मित एमआर स्ट्रिट पार्क उद्घाटन गरी सञ्चालनमा आइसकेको छ । उक्त पार्क स्वयम् नगर प्रमुख राजन मेहताले औपचारिक कार्यक्रमका बीच उद्घाटन गरेका छन् ।
युवा सहभागिता र जनश्रमदान रहेको स्ट्रिट पार्क नगरपालिकाको आर्थिक सहयोगमा शान्तिदीप नेपालले निर्माण गरेको हो । शान्तिदीपका अध्यक्ष सुवास राईका अनुसार सो स्ट्रिट पार्कको लम्बाइ ६ सय मिटर रहेको छ । सञ्चालनमा आइसकेको सो पार्क यतिबेला भने कोरोना महामारीको मारमा परेको छ । जसका संरचना र सजावटको संरक्षणमा चुनौती बढेको शान्तिदीपले जनाएको छ ।
इनरुवामै अर्को स्ट्रिट पार्क यतिबेला धमाधम निर्माणको चरणमा छ । लगभग निर्माण कार्य अन्तिम चरणमा पुगेको जिसस सडक–खण्ड अन्तर्गत मगर टोल क्षेत्रमा बनाइँदै गरिएको पार्कको लम्बाइ डेढ किलोमिटर रहेको छ । जसको लागत उपभोक्तासमेतको गरी ५१ लाख रहेको छ ।
सखुवागाछी–मालपोत खण्डभन्दा फराकिलो सडक भएकाले बनाउँदै गरिएको सो स्ट्रिट पार्क थप आकर्षक बन्ने अनुमान गरिएको छ । निर्माण समिति संयोजक सुजित राना मगरका अनुसार बाक्लो लाइट जडित रहने पार्क इनरुवाकै नमुना बनाइनेछ ।
फराकिलो सडक र सडकका बीच भागमा रोपेर हुर्काइएका फूलले मगर टोल खण्ड इनरुवाकै सुन्दर र नमुना बन्ने मगर टोलवासीको विश्वास छ । सो क्षेत्रमा खुल्ला व्यायामशाला समेत सञ्चालनमा ल्याइने बताइएको छ ।
सोही सडक अन्तर्गत बबियातर्फको खण्डलाई समेत त्यस क्षेत्रका स्थानीयले स्ट्रिट पार्कको योजनाका रूपमा अघि सारेका छन् । वडाध्यक्ष वसिरमुद्दिन अन्सारीको नेतृत्वमा स्थानीयले भेलामार्फत् अभियान थालिसकेका छन् ।
उनीहरूले पहिलो चरण अन्तर्गत सडक सफाइ र विभिन्न प्रजातिका फूल रोक्ने कार्य सकेका छन् । सहयोग जुटाएर त्यस क्षेत्रमा समेत झिलिमिली बत्तीसहित पार्कका अन्य संरचना निर्माण थालिने स्थानीयले बताएका छन् । सो कार्यका लागि वडामार्फत् नगरपालिकामा पहल थालिएको उनीहरूले बताएका छन् ।
इनरुवामा बजार क्षेत्र र नगरका मुख्य सडक–खण्डमात्रै नभई भित्री बस्तीमा समेत स्ट्रिट पार्क निर्माण कार्य भइरहेको छ । इनरुवा–४ सुनसरी खोलाछेउमा रहेको माझी टोलको करिब ३ सय मिटरको क्षेत्र आरसीसी ढलान गरिएको छ । पक्कीनाला, गमलासमेत राख्न मिल्ने गरी राखिएका स्टेण्डमा बत्ती जडान कार्य यतिबेला जारी छ ।
सो बस्तीमा सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन इकाई विराटनगरको साझेदारीमा सडक संरचना निर्माणसँगै स्थानीयको चासो र पहलमा स्ट्रिट पार्क निर्माणको कार्य अघि बढाइएको छ । सो क्षेत्रमा जारी संरचना निर्माणको कुल लागत उपभोक्ता सहभागितासहित ९९ लाख रहेको इञ्जिनियर अशोक मेहताले जानकारी दिएका छन् ।
सडक स्तरोन्नति भएका क्षेत्रमा स्ट्रिट पार्क निर्माणलाई जोड दिँदै आएको नगरपालिकाले क्रमशः सबै वडामा अभियानका रूपमा विस्तार गर्दै लैजाने बताएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली निरौलाले समानुपातिक विकासको अवधारणा अनुसार नगरभित्र काम भइरहेको बताए । उता नगर प्रमुख राजन मेहताले नमुना नगर बनाउने उद्देश्यका साथ नगरपालिकाको कार्यालय अघि बढेको बताए । उनले सबैले अनुभूति गर्ने विकास मोडेलका रूपमा नगरपालिका अघि बढेको बताए ।
मेहताले नगरका विभिन्न स्थानमा स्ट्रिट पार्क निर्माणसँगै ओपन जिम सञ्चालन र फ्रि वाईफाई जडानको कार्यलाई तीव्रता दिइएको बताए । विभिन्न स्थानमा पहिचान झल्कने आकृति निर्माणका साथै आधुनिक शैलीका मठ–मन्दिर, घण्टाघर र पार्कजस्ता संरचना निर्माण भइरहेको मेहताले बताए ।
नगर प्रमुख मेहताले मुख्य बजार क्षेत्रमा छिट्टै सुविधा सम्पन्न कम्प्लेक्ससमेत बनाइने बताए । मेहताले नगरभित्र बन्दै गरेका पूर्वाधारयुक्त संरचनाले इनरुवालाई शान्त र सुन्दर सहरसँगै आन्तरिक र वाह्य पर्यटनको गन्तव्यका रूपमा पहिचान दिलाउन मद्दत पुग्ने बताए । पछिल्लो समय स्थानीय युवा लगायतको सहभागितामा इनरुवामा आ–आफ्नो क्षेत्रमा सडक सफा र सुन्दर बनाउने क्रम बढेको छ । युवाकै पहलमा सहिद गेट हुँदै जिल्ला प्रहरी कार्यालयसम्म सडकको दायाँ–बायाँ प्रकाश बत्ती जोडिएका छन् । अन्य विभिन्न चोकसमेत धमाधम सिँगार्ने कार्य भइरहेको छ ।