इटहरी उपमहानगरपालिका भित्रका खाेला, पैनी र बाटाे मिचेर बनाइएका संरचनाहरू भत्काइने भएकाे छ । 

उपमहानगरपालिकाका नगर प्रमुख द्धारिकलाल चौधरीले त्यस्ता क्षेत्रमा बनाइएका संरचनाका कारण पानीकाे निकास सहज रूपमा हुन भएका कारण अन्य क्षेत्रमा डुवान हुने गरेकाे बताउँदै त्यस्ता क्षेत्रमा बनेका संरचना भत्काउने एक्सन सुरू भएकाे बताएका छन् ।

उनले कहाँ– कहाँ भत्काइने भन्ने अहिल्यै बताए अदालतबाट  स्टेअर्डर लिन धाउने भएकाले काम भएपछि मात्र थाहाँ हुने बताएका छन् ।

आज  विहान मात्रै इटहरी १२ को भारवी कलेज पश्चिम पटि बाटोको छेउमा गरिएको जग्गा घेराबारा इटहरी उपमहानगरपालिकाको डोजरले भत्काइदिएको छ । उपमहानगरमा अनुमति नलिइकन वाटो मिचेर संरचना वनाएको र त्यसले पानीको वहाव छेक्ने भएकाले भत्काएर अस्थायी रुपमा हयूम पाइप राखिएको प्रमुख चौधरीले बताए ।

यसैगरि इटहरीको १३ र १४ नम्बर हुँदै वडा नम्बर १२ राजमार्ग जोड्ने बहुवर्षिय योजनामा एउटा कल्भर्ड थुनिने गरि बनाइएको संरचना पनि भत्काएर वहाव खोलिएको उनले बताएका छन् ।नजिकै रहेको प्लाइ उद्योगले समेत पानीको वहाव थुनेकाले उद्योगपति सँग कुरा गरिएको प्रमुख चौधरीले बताए ।

उनले इटहरीवासीलाई डुवानबाट बचाउन यस्ता अनाधिकृत संरचनाहरु धेरै ठाँउमा भत्काइने बताए । अनाधिकृत संरचना हटाउन सूचना गरिने नमानेमा उपमहानगरपालिकाले भत्काएर नियमानुसार लागेको खर्च असुलउपर गराइने बताए ।