लगातारको वर्षाका कारण सप्कोशी नदीमा आएको बाढीले सप्तरीको कोशी टप्पु भनेर चिनिने गोबरगाढाका  बाढीपीडित  भोकभोकै बस्न बाध्य छन् । हनुमाननगर कङ्कालिनी नगरपालिका–१३ गोबरगाढाका झण्डै ३५ परिवार विगत चार दिनदेखि राहतको पर्खाइमा छन् ।  

कोशी नदीमा आएको बाढीले गोबरगाढाका घर जलमग्न भएका थिए  । वडाध्यक्ष बिन्देश्वर यादवका अनुसार स्थानीय प्रमोद , रामस्वरुप , हरिबोध , रामानन्द , कुशेश्वर, भुवनेश्वर , सन्तोश , महेन्द्र यादवलगायतका घर  जलमग्न भएको थियो ।

अझै घर आँगनमा दुई÷तीन फिटसम्म बाढी रहेकाले खाना पकाउन समस्या भइरहेको जनाइएको छ । स्थानीयवासी सीताराम यादवले भने ‘खाद्यान्न पनि सकिन लाग्यो । के खाएर छाक टार्ने ?’ प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले खाद्यान्न लगायत राहत वितरणका लागि स्थानीय तहसँग समन्वय भइरहेको जानकारीदिँदै आवश्यकताअनुसार शीघ्र राहत वितरण गरिने जानकारी दिए ।

बिग्रियो पीसीआर मेसिन 

तीनहप्तादेखि ठप्प रहेकोे राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पीसीआर परीक्षण अझै सुरुआत हुन सकेको छैन । गत साउनको दोस्रो हप्तादेखि सो पीसीआर  मेसिनमा प्राविधिक समस्या देखिएपछि परीक्षण  रोकिएको छ ।

कोभिड–१९ को तेस्रो लहरको जोखिम बढिरहेको बेला अस्पतालमा पीसीआर परीक्षण नै रोकिएपछि बिरामीलाई समस्या भएको छ । 

अस्पतालका डा रणजीतकुमार झाले उपकरणमा प्राविधिक समस्या देखिएपछि परीक्षण रोकिएको जानकारीदिँदै मरमतको प्रयास भइरहेको जानकारी दिए । उनले प्रदेश २ का स्वास्थ्य निर्देशनालय र केन्द्रीय जनस्वास्थ्य प्रयोगशालालाई जानकारी गराएको बताए ।

मलेसियामा कोरोनाबाट नेपालीको मृत्यु

कोभिड–१९ सङ्क्रमणबाट मलेसियामा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तिलाठी कोइलाडी गाउँपालिका–८ तोपाका ४० वर्षीय शिवचन्द्र खंग छन् । मलेसियाको साहआलम सहरमा सेक्युरिटी गार्डमा कार्यरत उनी दुई हप्ताअघि  सङ्क्रमति भएका बताइएको छ । 

उपचारका क्रममा खंगको आज मृत्यु भएको तिलाठी कोइलाडी –८ तोपाका कौशलकुमार यादवले जानकारी दिनुभयो । उहाँका अनुसार खंग चारवर्ष अगाडि रोजगारीका लागि त्यहाँ पुगेका थिए ।