धरान । एक साताअघि खोटाङमा भीरबाट खसेर मृत्यु भएका पत्रकार तथा समाजसेवी किसन राईको आज धरानमा अन्त्यष्टि गरिएको छ ।
हङकङबाट प्रकाशन हुने एभरेष्टखबरका सम्पादक/प्रकाशक तथा नेपाल पत्रकार महासंघ हङकङका अध्यक्ष समेत रहेका राईको धरान–१५ स्थित आफ्नै जमिनमा बाहिङ राईको परम्परा अनुसार संस्कार गरिएको हो ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टमपछि धरान–१५ स्थित किरात राई यायोक्खाको कार्यालय परिसरमा श्रद्धाञ्जली अर्पण गरिएको थियो । उनलाई श्रद्धाञ्जली अर्पण गर्न जनता समाजवादी पार्टी नेपाल (जसपा) का नेता तथा पूर्वमन्त्री रकम चेम्जोङ, जसपाकै नेता आङकाजी शेर्पा, नेकपा एमालेका केन्द्रीय सदस्य मुरारी सुवेदी, धरान उपमहानगपालिकाकी उपप्रमुख मञ्जु भण्डारी लगायत स्थानीय नेताहरु समेत पुगेका थिए ।

उनको पार्थिव शरिरमा हङकङ नेपाली महासंघ, धरान हङकङ मञ्च, किरात राई यायोक्खा सुनसरी लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले पुष्प गुच्छा, खदा र माला चढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । श्रद्धाञ्जली अर्पणपछि त्यहाँ नजिकै रहेको राई परिवारको आफ्नै जग्गा अन्त्यष्टि गरिएको हो । किसनको परिवारले अन्त्येष्टि कार्यकै लागि सो स्थानमा धेरै पहिले नै जग्गा किनेको थियो । त्यहाँ उनका बुवाको र अन्य नातेदारको पनि चिहान रहेको छ ।

कार्तिक ७ गते खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ स्थित भीरबाट पंखु खोलामा खस्दा राईको मृत्यु भएको छ । हङकङबाट उनकी आमा, श्रीमति, छोरा तथा बेलायतबाट छोरा र आफन्त आएपछि अन्तिम संस्कार गरिएको हो । नेपाल पत्रकार महासंघ हङकङका अध्यक्ष, नेपाल आदिबासी जनजाति महासंघ हङकङका अध्यक्ष, एनआरएनए हङकङका उपाध्यक्ष तथा विभिन्न संघ संस्थामा आवद्ध राई हङकङमा आदिवासी जनजातीको अधिकार स्थापित गर्ने अभियन्ता समेत थिए । नेपाली समुदायको अधिकारका लागि समेत लड्दै आएका उनलाई केही समयअघि हङकङ सरकारले सम्मान गरेको थियो भने नेपाल सरकारले पनि हालै जनसेवाश्री पदक प्रदान गर्ने घोषणा गरेको थियो ।


