धरान ।  युएन कलेज तथा नवोदय विद्या मन्दिरले कक्षा ११ र बीबीएस प्रथम वर्षमा भर्ना भएका विद्यार्थीहरूलाई स्वागत कार्यक्रम गरेको छ ।

कलेजले आफ्नो प्राङ्गणमा शनिबार कक्षा ११ को विज्ञान, व्यवस्थापनलगायत सङ्कायका विद्यार्थीहरूलाई स्वागत गरेको हो । त्यसक्रममा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूले गायन, नृत्यबाट अतिथिसहित नयाँ विद्यार्थीहरूलाई स्वागत गर्दै उच्च शिक्षाका लागि शुभकामना दिए ।

कार्यक्रममा नयाँ विद्यार्थीहरूलाई स्कुलका प्राचार्य डम्बर तुम्बापो, विद्यालय सञ्चालक समितिका अध्यक्ष ज्ञानेश्वर झालगायत शिक्षक, शिक्षिकाले स्वागत गरेका थिए ।

कलेजले व्यवस्थापन सङ्कायको होटल म्यानेजमेन्टतर्फ कक्षा १२ मा ३.६२ जिपिए ल्याउँदै कलेज टपर भएकी लिसु लिम्बूलाई ‘बेस्ट स्टुडेन्ट अफ दी इयर’ बाट सम्मानित गरिएको छ । उनलाई नगद ५ हजार रुपैयाँसहित सम्मान–पत्र प्रदान गरिएको प्राचार्य तुम्बापोले जानकारी दिए ।

त्यस्तै दोस्रो बनेकी सुम्निमा राई र सोनिया तामाङ साथै तेस्रो बनेकी सेसेमा लिवाङलाई पनि सम्मानित गरिएको थियो । दोस्रो बनेकाहरूले ३.५६ र तेस्रो बनेकी सेसेमाले ३.५१ जिपिए ल्याएर हालै उत्तीर्ण भएका छन् ।

उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि ब्लाष्ट टाइम्स राष्ट्रिय दैनिकका प्रधानसम्पादक एवम् कवि राजकुमार कार्की, क्याम्पसका प्राचार्य तुम्बापो, अध्यक्ष झालगायतले सम्मान–पत्र प्रदान गरेका थिए ।

यसक्रममा कलेजको बीबीएसमा उत्तीर्ण भई हालै विभिन्न बैङ्क तथा कलेजहरूमा अध्यापकको भूमिकामा रहेका ७ जनालाई पनि सम्मानित गरिएको छ ।

swagat-un