धरान । हाल बेलायतमा कार्यरत तेह्रथुम मेयाङ्लुङका रोमियो लिम्बूको जन्मदिनको अवसरमा धरानमा अपाङ्गता भएकाहरूलाई न्यानो लुगा, खाना र नगद सहयोग गरिएको छ ।
याक्थुङ सिङ्गक फाउन्डेसनको संयोजनमा धरानका सडकपेटीमा मागेर जीवन यापन गर्दै आएका पाँच जनालाई सहयोग गरिएको हो ।
शनिबार धरानको घण्टाघरपरिसरमा मोरङको सुनवर्षी नगरपालिका–६ का ५० वर्षीय विद्यानन्द ऋषिदेव, इलामको सूर्योदय नगरपालिका–१३ का ५७ वर्षीय खगेन्द्र आचार्य, सुनसरीको बर्जु गाउँपालिका–४ हसनपुरका ५२ वर्षीय नवराज चौधरी, धरान–५ तल्लो देउरालीका २४ वर्षीय विमल सिवा र इलामकी अनु राई गरी ५ जनालाई न्यानो कपडा र नगद वितरण गरी खानासमेत खुवाइएको फाउन्डेसनकी अध्यक्ष मीना सिङ्गकले जानकारी दिइन् ।
फाउन्डेसनको संयोजनमा यसअघि पनि अशक्त, बिरामी र विभिन्न समस्याका पीडितहरूलाई सहयोग प्रदान गरिँदै आएको छ ।