धरान । गुरुङ फिल्म फिच्यो अर्थात् कान्छी छोरी अमेरिका र नेपालमा एक साथ विशेष प्रदर्शन गर्न लागिएको छ ।
फिल्मका निर्देशक विकास घले गुरुङले फिल्मको निर्देशन गरेका छन् । फिल्मको रिलिज भने हालसम्म भएको छैन । कोरोना महामारीका कारण पनि फिल्म क्षेत्रलाई प्राभावित बनाइरहेकाले पनि विशेष प्रदर्शन गर्न लागिएको निर्देशक घलेले जानकारी दिए ।
फिल्म तीन भाषामा निर्माण गरिएको छ । गुरुङ, नेपाली र अङ्ग्रेजी भाषामा फिल्म बनेको छ । तमु ल्होसारको अवसर पारेर पुस ३ गते काठमाडौं र अमेरिकामा फिल्म प्रदर्शन गर्न लागिएको हो । फिल्ममा विश्वास गुरुङ, इन्द्र घले, टीकाराम घले, सीतादेवी गुरुङ, डिबी गुरुङलगायतको अभिनय रहेको छ ।
फिल्ममा गुरुङ समुदायको संस्कार, संस्कृति र रीतिरिवाजलाई देखाउने प्रयास गरिएको छ । फिल्मको प्रस्तुति रेड ओसियन इन्टरटेनमेन्टको छ । बिग्रदै गएको सामाजिक परिस्थितिले कर्मठ र जेहेन्दार युवामा कसरी असर पर्छ भन्ने कुरा फिल्मले देखाउन खोजेको छ ।