धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीकहाँ लागेको ताला ६ महिनापछि फुटाइएको छ । 

सर्वोच्च अदालतले मङ्सिर २१ गते ताला खोल्न दिएको अन्तरिम आदेशअनुरूप प्रतिष्ठानका चार पदाधिकारीकहाँ लागेको ताला आज फुटाइएको हो ।

tala3

सर्वोच्चको आदेशअनुरूप जिल्ला प्रशासन कार्यालयको निर्देशनमा धरान प्रहरीले प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष प्रा.डा. गुरु खनाल, अस्पताल निर्देशक प्रा.डा. गौरीशङ्कर साह र राजीनामा बुझाइएका रजिष्ट्रार प्रा.डा. मोहनचन्द्र रेग्मीको कार्यकक्षमा लागेको ताला फुटाइएको हो । 

tala1

प्रतिष्ठान सुधार अभियानअन्तर्गत चिकित्सक, कर्मचारी, नर्ससम्मिलित संयुक्त सङ्घर्ष समितिले असार १६ गते प्रतिष्ठानका प्रमुख पदाधिकारीकहाँ तालाबन्दी गरेका थिए । तालाबन्दीपश्चात् उनीहरूले दैनिक कामकाज डिनको कार्यालयबाट गर्दै आएका थिए । उता डिनको कार्यालयमा पनि तालाबन्दी गरेका थिए ।

tala2

समितिले असार १ गतेबाट आन्दोलन थालेको थियो भने असार ३० गते प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा प्रधानमन्त्री तथा प्रधानमन्त्रीको कार्यालयका सचिव स्तरीय छानबिन समिति बनेको थियो । समितिले साउन १८ गते प्रतिवेदन बुझाएको थियो ।