धरान / किरात राई यायोक्खा बेलायतको आठौं महाधिवेशन गत शनिबार लण्डनको साउथ ह्यारोस्थित सम्पन्न भएको छ । आठौं महाधिवेशनले अध्यक्षमा मेजर योगेश कोयी राई सर्वसम्मत निर्वाचित गरेको छ । 

सन् १९८६ सालमा बेलायती सेनामा भर्ती भएका राई बेलायती सेनाका वहालवाला मेजर हुन् । राईले बेलायतको नेपाली समुदायको बाक्लो बस्ति रहेको अल्ट्रासोटमा श्रीलक्की ज्वेलरी संचालन गरिरहेका सफल व्यवसायी समेत हुन् । 

महाधिवेशनले राईको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । किरात राई यायोक्खा केन्द्रिय अध्यक्ष दिवस राईले प्रमुख अतिथिको रुपमा भर्चुअल माध्यमबाट शुभकामना मन्तब्य व्यक्त गरेका थिए । अध्यक्ष राईले किरात राईहरुको संख्या विदेशमा बढ्दै जानु सुखद् पक्ष रहेको बताउदै संस्थालाई व्यक्ति केन्द्रीत भन्दा पनि विधि विधानको आधारमा सञ्चालन गर्नु पर्नेमा विशेष जोड दिएका थिए । 

त्यस्तै, उद्घाटन सत्रमा जनता समाजवादी पार्टीका केन्द्रीय नेता भगवान चाम्लिङ, नेपाल आदीवासी जनजाति महासंघ बेलायतका अध्यक्ष कर्मा पहाडी शेर्पा लगायतका अतिथिहरुले शुभकामना मन्तब्य राखेका थिए । शेर्पाले किरात राई यायोक्खा बेलायतलाई आदीवासी जनजाति महासंघले भरपुर सहयोग गर्ने समेत प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

महाधिवेशनमा बेलायत भरका १३ वटा प्रारम्भिक कार्यसमितिका प्रतिनिधि तथा पर्यवेक्षक सहित २ सय ५० जना भन्दा बढिको सहभागीता रहेको महाधिवेशनमा प्रारम्भिक कार्यसमितिका प्रतिनिधिहरुले कार्यप्रगति प्रतिवेदन समेत प्रस्तुत गरेका थिए । बन्द सत्रमा संस्थाका महासचिव नरेश काङमाङ राईले प्रगति प्रतिवेदन, कोषाध्यक्ष धनराज राई र सहकोषाध्यक्ष प्रसाद राईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । बन्द सत्रमा प्रस्तुत भएको प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदनमाथी गहन छलफल समेत भएको थियो ।

महाधिवेशनमा संशोधित विधानलाई उपाध्यक्ष प्रेम राईले प्रस्तुत गरेका थिए । बन्द सत्रमा महासचिव नरेश काङमाङ राई, कोषाध्यक्ष धनराज राई र सहकोषाध्यक्ष प्रसाद राईले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा उपस्थित प्रतिनिधिहरुले सामुहिक रुपमा छलफल गरेका थिए । छलफलपछि प्रस्तुत भएका प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन सर्बसम्मतले पास भएको थियो ।

बन्द सत्रका अध्यक्षता किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिका पुर्वअध्यक्ष यशोदा राई र निर्वाचन समितिका अध्यक्ष, केन्द्रिय पुर्वअध्यक्ष डा.सुमाया राईले गरेकी थिइन । कार्यक्रमको उद्घाटन सत्रमा शुभकामना मन्तब्य उपाध्यक्ष राजकुमार राईले र कार्यक्रम सञ्चालन महासचिव नरेश काङमाङ राईले गरेका थिए । 

अध्यक्षमा निर्वाचित भएपछि मेजर योगेश कोयी राईले तत्कालीन र दीर्घकालिन रणनीतिक अवधारणाहरु समेत सार्वजानिक गरेका छन् । अध्यक्ष राईले बेलायतमा रहेका सम्पुर्ण किरात राईहरुलाई एकताको सुत्रमा बाँधेर अन्य जातजातिहरुसंग भाइचाराको रुपमा सम्बन्ध स्थापित गर्ने समेत प्रतिवद्धता व्यक्त गरेका थिए ।