धरान / ‘थ्रिफ्ट कल्चर’ अर्थात एक पटक प्रयोग भईसकेका तर गुणस्तरीय कपडा, ब्याग, जुत्ता लगायतका फेशनेवल समानको किफायती रुपमा पुनः प्रयोग गर्ने प्रचलन युवापुस्ताबीच लोकप्रिय छ ।
विशेषगरी युरोप, अमेरिकामा ‘थ्रिफ्ट कल्चर’ फैलिंदो छ । चाँडो परिवर्तन भईरहने फेशन ट्रेन्डका कारण पनि ‘थ्रिफ्ट कल्चर’ मौलाएको पाईन्छ । नेपालमा पनि फेशन ट्रेन्ड पछ्याउने युवापुस्ता माझ लोकप्रिय बनिरहेको छ, थ्रिफ्ट कल्चर । पछिल्लो समय खुलिरहेका ‘थ्रिफ्ट स्टोर’हरुले यसलाई पुष्टि गर्छन् । विश्वमा चलेका फेशन ब्रान्ड मन पराउने युवायुवतीहरु अचेल थ्रिफ्ट स्टोरमा सपिङ गर्छन् । किनकी यस्तो स्टोरमा ब्रान्डेड समान निक्कै सस्तो मूल्यमा पाईन्छ । देश विदेश घुमेका र ब्रान्डबारे बुझेका युवापुस्ताका लागि उपयोगी बनेको छ यो ।
दुबईमा ६ वर्ष कपडाको स्टोरमा काम गरेकी रिना ह्योल्मो जब धरान आईन, उनलाई ब्रान्डेड कपडा पाउन धेरै तिर चहार्नु प¥यो । बल्ल पाएका ब्रान्डेड कपडा पनि निक्कै महँगो लाग्यो । उनले दुबईमा छँदै त्यहाँका युवापुस्तामा माझ लोकप्रिय ‘थ्रिफ्ट कल्चर’ देखेकी थिईन् । धरानमा पनि त्यस्तै पसल खोजि गरिन् तर भेटाईन् । आधुनिक फेशन पछ्याउने धरानकै सिन्द्रेला राई र रेजिना राईले पनि यस्तै ब्रान्डेड तर सस्तो पहिरनको धरानमा आवश्यकता देखेका थिए । उनीहरुले धरानमा पनि थ्रिफ्ट शप खोल्ने योजना बनाए । त्यसपछि यहि मङ्सिरको अन्तिममा रिनाका ससुरा अनि सिन्द्रेला र रेजिनाका बाजे जयबहादुर राईको हातबाट रिबन काटेर धरानको सब्जीमण्डी लाईनमा सुरु भयो, ‘द थ्रिफ्ट सप’ ।

सुरुमा त उनीहरुले धरानमा थ्रिफ्ट बारे कमै सुनेकाले कस्तो होला ? भन्ने लागेको थियो । ‘सेकेन्ड ह्यान्ड समान’ भनेर मान्छेले चासो नदेलान कि भन्ने पनि थियो । तर यसबारे बुझेका युवायुवतीले चासो दिए । रिना भन्छिन्, ‘सोचे भन्दा राम्रो बिक्री भईरहेको छ । यसले उत्साह थपिएको छ ।’
उनीहरुको पसलमा जारा, ग्याप, अर्डेन, प्रमोट जस्ता बान्डका समान पाईन्छन् । जसको मूल्य ३ सय ५० देखि ३ हजार ५ सयसम्म राखिएको छ । ‘यो मूल्य भनेको समानको वास्तविक मूल्य भन्दा ६० प्रतिशत भन्दा कम हो ।’ रिना भन्छिन्, ‘सस्तोमा ब्रान्डेड समान पाईने भएकाले पनि थ्रिफ्ट लोकप्रिय बनेको हो ।’
अहिले उनीहरुले महिला र बच्चाका कपडा, जुत्ता, व्याग जस्ता समान बिक्रीमा राखेका छन् । पछि पुरुषका पहिरनपनि राख्ने योजना छ ।
तीन जना मिलेर करिब १० लाख लगानीमा सुरु गरेको ‘द थ्रिफ्ट सप’का समान उनीहरुले फेसबुक पेज र इन्ट्राग्राममा पनि राख्ने गरेका छन् । ‘पेज र इन्ट्राबाट पनि धेरैले सोधिरहेका छन् । विशेषगरी युवायुवतीले ब्रान्डेड समान खोज्ने गरेका छन् ।’ रेजिना भन्छिन् । विश्वव्यापी फेशन ट्रेन्ड बुझेका धरानका युवापुस्ताले थ्रिफ्ट क्लचरलाई मन पराउनेमा उनीहरु आशावादी छन् । रिना भन्छिन्, ‘धरान पहिलादेखि नै फेशनेवल सहर हो, सिधै हङकङ, युकेबाट ब्रान्डेड पहिरन ल्याएर लगाउने ठाउँ हो । त्यसैले पनि विदेशमा चलेको यो ट्रेन्ड यहाँका युवायुवतीले अवश्य मन पराउँछन् भन्ने लाग्छ ।
सुरुमा त उनीहरुले घरबाटै अनलाईन मार्फत थ्रिफ्ट समानको व्यापार गर्ने सोंच बनाएका थिए । तर खोज्दै जाँदा सब्जीमण्डीलाईनमा एउटा कपडा पसल बिक्रीमा रहेको भेटे । त्यो पसलै उनीहरुले किने । त्यसैले पसलमा केही पहिलेकै पसलका नेपाली कपडाहरु पनि राखेका छन् तर उनीहरुको मुख्य लक्ष्य बाहिरका ब्रान्डेड समान विक्री गर्ने हो । रिना भन्छिन्, ‘यसलाई हामीले व्यापारका रुपमा मात्र होईन, आफुले भोगे जस्तै ब्रान्डेड समान नपाएका युवायुवतीलाई सहज बनाउनका लागि पनि सुरु गरेका हौं । यसैबाट सेवामुलक काम पनि गर्ने योजना छ ।’
उनीहरु पसलबाट कमाएको केही नाफाले हरेक वर्ष गरिब, दुखीहरुलाई कपडा वितरण गर्ने योजनामा छन् ।

हाल दुवईमै रहेकी सिन्द्रेला र उनकी आमा तारा राईले उताबाट ब्रान्डेड समानहरु नेपाल पठाउँछन् । अनि रिना र रेजिना यता बिक्री गर्छन् । उनीहरुलाई थ्रिफ्ट शप खोल्न सहयोग गरिरहेकी तारा भन्छिन्, ‘हामी त लामो समय विदेश बस्यौं तर अब सँधै बसेर हुँदैन बरु यहाँको अनुभवले आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने सोचेर पनि थ्रिफ्ट सप सुरु गर्न सल्लाह दिएँ । उनीहरु पनि उत्साहित छन् ।’
१९ औं सताब्दिमा विस्तार भएको थ्रिफ्ट कल्चरलाई विकसित देशहरुमा वातावरण संरक्षणका दृष्टिले पनि महत्वपूर्ण मानिन्छ । अझ एकपटक लगाएका पहिरन अर्कोपटक प्रयोग नहुने फेशन दुनियाँका लागि त झनै महत्वपूर्ण मानिन्छ । किनभने एकातिर फोहोर थुप्रिन नदिई वातावरण संरक्षणमा सहयोग गर्छ भने अर्कातिर कम खर्चमा पहिरन फेरिरहन सकिन्छ । अनि ब्रान्डेड पहिरन लगाउन मन पर्ने तर कम खर्च गर्न चाहनेका लागि पनि यसले राहत दिन्छ । विश्वमै थ्रिफ्ट कल्चरले परापकारी काममा समेत ध्यान दिन्छ । त्यसैले पनि प्रसिद्ध म्यागेजिन ‘टाईम’ले थ्रिफ्ट सप बारेको एउटा स्टोरीमा लेखेको छ, ‘थ्रिफ्ट सप मोडल त्यति चाँडै फेसनबाट बाहिरिने छैन ।’

