धरान । फोटो पत्रकारहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्न इटहरीमा एक दिने फोटो पत्रकारिता प्रशिक्षण आयोजना गरिएको छ ।

नेपाल प्रेस युनियन सुनसरीले राष्ट्रिय फोटो पत्रकार समूह काठमाडौंसँग सहकार्य गरी निःशुल्क प्रशिक्षण दिएको हो । प्रशिक्षणमा ३० जना सुनसरी र मोरङका पत्रकार सहभागी थिए । 

प्रशिक्षित पत्रकार अर्जुन सुवेदीले फोटो पत्रकारिताबारे आफूले पाएको ज्ञानलाई आगामी दिनमा सदुपयोग गर्ने बताए । उनले कतिपय अवस्थामा फोटो कसरी खिच्ने, प्रस्तुतीकरणलगायतका बारेमा सामान्य ज्ञानमात्रै रहेकोबारे तालिमबाट जानकारी पाएको बताए । 

राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले सहभागी पत्रकारहरूलाई तालिममा सहजीकरण गरे । कस्तो विषय वस्तु समेटेका दृश्य खिच्ने, कसरी खिच्नेदेखि प्रकाशमा आइसकेपछि त्यसले पार्ने प्रभावबारे जानकारी गराइएको थियो । त्यस्तै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भीषण राईले फोटो खिचिसकेपछि क्याप्सन लेख्ने विषयमा जानकारी गराएका थिए । 

युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले व्यावसायिक पत्रकारिता गर्ने फोटो पत्रकारहरूको संख्या न्यून रहेकाले यस्ता ज्ञानले व्यावसायिक पत्रकारिता गर्न सहज हुने भएकाले तालिम दिइएको बताए ।