बिर्तामोड ।  झापाको अर्जुनधारा नगरपालिका–५ बस्ने सेवुलाल चौधरीलाई यतिबेला आफ्ना ९ बर्षका छोराको भविष्य सम्झेर रातभर निन्द्रा लाग्दैन । गत असोजदेखि उनका छोरा आकाशमा मानसिक समस्या देखिन शुरु भएपछि चौधरी तनावमा छन् । 

केही सहय अघिसम्म सामान्य रहेका उनका छोरा आकाशमा एक्कासी मानसिक रोग थपिएपछि चौधरी समस्यामा परेका हुन् । अत्यान्त न्युन आर्थिक अवस्था भएका चौधरी काम गर्नु कि, छोरो हेरेर बस्नु भन्ने अवस्थामा छन् । 

दुईमध्ये उनको कान्छो छोरा आकाशको मानसिक सन्तुलन कमजोर भएपछि चौधरीलाई संकट परेको हो । उनकी श्रीमती रिता भारतको नागाल्याण्डमा बस्दै आएकी छन् । सेवुलालसँग डिभोर्स गरेर रिता भारतमा बस्न थालेकी हुन् । मानसिक सन्तुलन कमजोर भएको छोरा रेखदेख गर्ने समयमा रिताले चौधरीसँग डिभोर्स गरेकी उनको भनाई छ । 

सामान्य ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका चौधरीलाई छोरा हेरेर बस्नु कि काम गरेर खाना जुटाउनु भन्ने चिन्ता छ । ‘काम गर्न जाँदा खाना हुँदैन, काममा जाँदा छोरा हुँदैन’ चौधरी अहिले यही पीडामा छन् । 

मानसिक सन्तुलन गुमेका उनका छोरा घर छोडेर हिड्ने भएका कारण उनलाई छोड्न नमिलेको हो । ‘धेरै पटक हिडिसक्यो, कहिले बिर्तामोड, कहिले इलामको दानावारीदेखि भद्रपुरमा फेला पारेर घर ल्याएँ, चौधरीले भने–‘जस्तै भएपनि आफ्नो सन्तान, मायाँ हुँदो रहेछ ।’

कोही नभएको समयमा आकाश घर छोडेर हिड्ने, फोहोर कुरा टिपेर खाने तथा अरु मान्छेसँग तथानाम बोल्ने गरेको स्थानीय कौशल भण्डारीले बताए । ९ बर्षसम्म स्कुल जान नपाएका आकाश घर छोडेर हिडेपछि आफै घर नफर्किने जानकारी उनले दिए । ‘खोजेर नल्याई हुदैन, उनले भने । आकाशले अस्वभाविक चरित्र देखाउन थालेपछि उपचार गर्ने ब्यवस्था मिलाउँदै गरेको उनले बताए । 

घरमुली चौधरीले काम नगरी हातमुख जोडिदैन । उनी ज्याला मजदुरीका लागि ठेकेदारले बोलाएको ठाउँमा जानैपर्छ । यस्तो अवस्थामा चौधरीले छोरालाई साङलाले बाँधेर काममा जाने गरेको बताए । अमानवीय जस्तो देखिएपनि बच्चाकै सुरक्षाका लागि साङलाले बाँधेको उनको भनाई छ । चौधरीले उनको उपचारमा सहयोग गरिदिन अनुरोध पनि गरेका छन् ।