पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिका–६ मा २८ महिनाअघि निर्माण सम्पन्न भएको छात्रावास अझै सञ्चालनमा आएको छैन ।
आङ्सराङको मेहेलबोटेस्थित जयनारायण आदर्श माध्यमिक विद्यालयको छात्रावास प्रयोगमा नआउँदा छात्रावास बेवारिसे बनेको हो । प्रदेश सरकारको ८५ लाख रुपैयाँ खर्चेर बनाएको छात्रावास उद्घाटनको २८ महिनासम्म सञ्चालनमा आउन सकेको छैन ।
प्राविधिक विषय लिएर अध्ययन गर्ने छात्राहरूलाई आवासको सुविधा दिँदै पठन–पाठन सहज गराउन २८ महिनाअघि निर्माण कार्य सकिएको थियो । तर, भवनमा भ¥याङ, रेलिङ र शौचालयजस्ता अत्यावश्यक संरचना निर्माण नगरेको भन्दै विद्यालयले भवन जिम्मा नलिएपछि भवन अलपत्र परेको हो ।
प्रदेश सरकारको लगानीमा निर्माण भएको दुई तले भवनमा १२ कोठा छन् । भवनको माथिल्लो तलामा जाने भ¥याङ, बरन्डामा रेलिङसँगै शौचालय नहुँदा भवन जिम्मा नलिएको विद्यालयका प्रधानाध्यापक विनोद अधिकारीले बताए । ‘भवन अधुरो छ’ उनी भन्छन्, ‘समितिले जिम्मा लिनुहोस् भन्ने कुरा ग¥यो, हामीले अधुरो भवन जिम्मा लिन्नौं भन्यौं ।’ यो विषयमा गाउँपालिकासँग आवश्यक रकम माग गर्दा विद्यालयको स्रोतले बनाउनू भन्ने जवाफ आएको अधिकारीले बताए ।
भवनको उद्घाटन २०७६ साल कात्तिक ७ गते प्रदेश १ का तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले गरेका थिए । उद्घाटन गरेको २८ महिनासम्म भवनमा शौचालय, रेलिङ, भर्याङलगायत संरचना बनाइएको छैन । भवन निर्माण उपभोक्ता समितिमार्फत् गरिएको थियो । गाउँपालिकाको उप–निर्वाचनमा मतदाता प्रभावित पार्न निर्माण नसकिँदै छात्रावास उद्घाटन गरिएको स्थानीयको आरोप छ ।
तत्कालीन नेकपाका नेता प्रेम रिजाललाई निर्माण उपभोक्ता समितिको अध्यक्ष बनाइएकोे थियो । उनकै समितिले राजनीतिक आडमा भवन अधुरो छाडेको स्थानीयको आरोप छ । निर्माण समितिका अध्यक्ष रिजालले त्यो बेला प्रदेश सरकारले उपलब्ध गराएको बजेट अपुग हुँदा संरचना अधुरै छाडिएको दाबी गरे । भवन अधुरो भए पनि उद्घाटन भएपछि छात्रावास भवन स्वतः विद्यालयको जिम्मामा गइसकेकाले बाँकी काम विद्यालयले नै गर्नुपर्ने उनको भनाइ छ ।
गाउँपालिका अध्यक्ष वीरबहादुर कुरुम्वाङले पनि विद्यालयले अन्यत्रबाटै स्रोत खोजेर भवनको काम पूरा गर्नुपर्ने बताए । ‘यसअघि प्रदेश सरकारले छात्रावास अधुरो छाडेको थियो । प्रदेश सरकारबाट बजेट आएपछि पुनः काम अघि बढ्छ’–उनले भने ।
यता प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले यस्तो सामान्य विषयमा गाउँपालिका र वडाले भवन तत्काल सञ्चालनमा ल्याउनु पर्ने भए पनि सञ्चालनमा नल्याउनु दुखद् भएको बताए । मन्त्री आङ्बो भन्छन्, ‘आफैले उद्घाटन गरेको भवन प्रयोगविहीन भएकोे सुन्दा दुःख लागेको छ । यो विषयमा पहिले थाहा भएको भए बेवारिसे हुने थिएन । अब चाँडै गाउँपालिकाले नगरे प्रदेशबाटै बजेट व्यवस्थापन गरेर काम गर्छु ।’