विजयपुर । १ नम्बर प्रदेशका यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरले सार्वजनिक जग्गा अतिक्रमणमा धरान उपमहानगरपालिकाले चालेको निर्णयविरुद्ध अभिव्यक्ति दिएका छन् ।
बिहीबार मन्त्री घिमिरेले धरान उपमहनगरले सार्वजनिक जग्गा अतिक्रमण गरी बसेको बस्ती उठाउने गरेको निर्णयविरुद्धमा अभिव्यक्ति दिएका हुन् । धरान उपमहानगरले २०७२ सालयताका सार्वजनिक जग्गा अतिक्रमण गरी बसोबास गरेको बस्ती उठाउने निर्णय गरेको थियो । उपमहानगरले जिल्ला अधिकारी, सुरक्षा संयन्त्रसहित सर्वपक्षीय बैठकले बल नै प्रयोग गरेर भए पनि बस्ती उठाउने निर्णय गरेको छ । उक्त निर्णयविरुद्धमा मन्त्री देखिएका छन् ।
मन्त्री घिमिरेले धरान–१७ नमुना बस्तीमा अनुगमनपश्चात् धारणा राख्दै उपमहानगरलाई उठाउन नदिने प्रतिक्रिया दिए । उनले भने, ‘सिडिओ र मेयरसँग पनि छलफल गर्छु ।’ उनले करिडोर निर्माण गर्दा उठाउनु पर्ने बस्तीलाई व्यवस्थापन गरेर मात्रै उठाउनु पर्ने बताए । उनले जनताको गुनासो विषयमा धारणा राख्दै उठाउन नदिने बताएका थिए ।
उनले आइतबार बस्ने प्रदेश मन्त्रिपरिषद्को बैठकमा सेमत कुरा उठाउने बताए । नमुना बस्ती संरक्षण सङ्घर्ष समितिका अध्यक्ष अमर श्रेष्ठले बस्तीका समस्या राखेका थिए । उनले बस्ती उठाउन समयसिमा नै दिएको बताएका थिए । एकीकृत समाजवादी धरानका अध्यक्ष रेवतीरमण राईले पनि घर निर्माण गरी बसेको बस्ती जोगाउन पहल गर्ने बताए ।
बस्ती उठाउने निर्णय गरेपछि काङ्ग्रेस कार्यकर्ताले समेत उपमहानगर प्रमुख तिलक राईको आलोचना गरेका थिए । उनीहरूले निर्वाचनको समयमा कम्युनिष्टहरूले निर्वाचनमा हराउनका लागि रणनीतिक रूपमा निर्र्णय गराएको भन्दै सच्याउनुपर्ने बताए । धरान उपमानगरको सार्वजनिक जग्गा अतिक्रमण गर्दै बस्नेमा वास्तविक सुकम्बासीभन्दा राजनीतिक दलका नेता कार्यकर्ता रहेको आरोप लाग्दै आएको छ ।