विराटनगर । मोरङ क्षेत्र नम्बर ३ (१) मा काङ्ग्रेसका मानबहादुर लिम्बूले उम्मेदवारी दर्ता गरेका छन् । त्यस क्षेत्रको उम्मेदवार शेखरचन्द्र थापाको बुधबार निधन भएपछि लिम्बूले टिकट पाएका हुन् ।
प्रदेश १ को वन, वातावरण तथा भू–संरक्षण मन्त्रीसमेत रहेका थापाको डेङ्गु र निमोनियाका कारण उपचारको क्रममा निधन भएको थियो । उनी गठबन्धनकोतर्फबाट मोरङ क्षेत्र नम्बर ३ (१) मा उम्मेदवार थिए । बिहीबार मनोनयन दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालयमा पुगेका लिम्बूलाई काङ्ग्रेसकै कार्यकर्ताले अवरोध गर्दै नाराबाजी गरेका थिए ।
मृतक थापाकी श्रीमती लक्ष्मी थापालाई टिकट नदिएको भन्दै काङ्ग्रेसकै कार्यकर्ताले विरोध गरेका थिए । मनोनयन दर्तापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै लिम्बूले गठबन्धनको साझा उम्मेदवार भएकाले निर्वाचन जित्ने दाबी गरेका छन् । गठबन्धन तथा पार्टी एउटै भएको र पात्र मात्रै दुःखद् घटनाका कारण फेरिएकाले चुनाव जित्नका लागि कुनै समस्या नभएको उनले बताए । उनको प्रतिस्पर्धा भने एमालेका किशोर राईसँग हुने भएको छ ।
थापाको निधन भएपछि निर्वाचन आयोगले बुधबार नै सो क्षेत्रका लागि निर्वाचनको नयाँ कार्यतालिका सार्वजनिक गरेको थियो । आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार लिम्बूले मनोनयन दर्ता गराएका हुन् ।
३७ वर्षमा प्रदेशको टिकट
पार्टीको सक्रिय राजनीतिमा लागेको ३७ वर्षपछि लिम्बूले प्रदेशसभाको टिकट पाएका हुन् । नेविसङ्घको राजनीतिमार्फत् सक्रिय भएका लिम्बू ५४ वर्ष पुगेका छन् । नेविसङ्घको जिल्ला अध्यक्ष, तरुणदलको जिल्ला सचिव, पार्टीको जिल्ला कमिटी सदस्यको जिम्मेवारी उनले सम्हालिसकेका छन् ।
१३ औं जिल्ला अधिवेशनमा उनी जिल्ला सचिवमा पराजित बनेका थिए । १४ औं महाधिवेशनमा भने महासमिति सदस्यमा निर्वाचित भएका थिए । काङ्ग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा विद्यार्थी राजनीतिमा लिम्बूका समकक्षी रहेको काङ्ग्रेसका नेताहरू बताउँछन् ।