विराटनगर । सुनसरीको इटहरी–२० तरहराकी ३० वर्षीया रमा चौहानले तिम्ल्याहा शिशुको जन्म दिएकी छन् ।

मोरङ विराटनगरस्थित विराट नर्सिङ होममा उनले एकसाथ तीन शिशु जन्माएकी हुन् । जन्मपछि हस्पिटलका वरिष्ठ नवजात तथा बालरोग विशेषज्ञ डा. दीपराज अधिकारीको नेतृत्वमा शिशुहरूलाई बचाइएको छ । विराटका १६ जना स्वास्थ्यकर्मीको टोलीले तिम्ल्याहा नवजात शिशुको सफल उपचार गरेको थियो ।

बच्चा समय नपुगी जन्मिएका हुन् । बिहीबार पत्रकार सम्मेलन गरी दिइएको जानकारी अनुसार चौहान कात्तिक ३ गते अस्पतालमा भर्ना भएकी थिइन् । कात्तिक १० गते नवजात शिशुहरूको जन्म दिएकी थिइन् । शिशुहरू सबै छोरी रहेका छन् । अस्पतालकी वरिष्ठ स्त्री, प्रसूति तथा निःसन्तान विशेषज्ञ डा. प्रेरणा दाहाल नेतृत्वको टोलीले प्रसूति गराएको थियो ।

गर्भ रहेको २९ सातामै चौहानले शिशुहरू जन्माएकी हुन् । सामान्य अवस्थाका शिशुहरू ४० सातामा जन्मिए पनि गर्भमा २ वा त्यसभन्दा बढी शिशु रहेको अवस्थामा सामान्य गर्भावस्थामा भन्दा छिटो पैदा हुने चिकित्सकको भनाइ छ । चौहानले गर्भ रहेको २९ हप्ता पूरा भएपछि यी शिशु जन्माएकी हुन् ।

‘समय नपुगी त्यो पनि कम तौल भएका शिशुहरूलाई बचाउन निकै गाह्रो र खतरा हुने गर्दछ’ वरिष्ठ नवजात तथा बालरोग विशेषज्ञ डा. अधिकारीले भने, ‘कम तौलको शिशुको शरीरका अङ्गहरू विकास भएका हुँदैनन् । त्यस्ता शिशुलाई कडाखालको अक्सिजनमा राख्नुपर्ने हुन्छ । बुझ्ने भाषामा भन्नुपर्दा आमाको कोखमा राखेर उपचार गर्नुपर्ने हुन्छ ।’ तीनै जना शिशुलाई एनआईसीयू कक्षमा राखेर उपचार गरेको उनले बताए ।

‘एनआईसीयूमा दुई साता राखेर उपचार गर्दा शिशुको अवस्था अहिले एकदमै राम्रो भएपछि नर्सरी वार्डमा सारेर उपचार गरिएको छ’ उनले भने, ‘अब अवस्था खतराको जोखिम मोलेर अगाडि बढेको छ । तीनै जना शिशुको अवस्था अहिले एकदमै राम्रो छ । आमाको दूध खान सक्ने भएका छन् ।’ शरीर विकास हुँदै जाने क्रम अब बढेर जाने भएकोले अबको दुई साताभित्रमा शिशुहरूलाई डिस्चार्ज दिने उनले बताए ।

‘खुसीको सीमा छैन’
तिम्ल्याहा शिशु जन्माएकी रमा चौहानका यी पहिलो सन्तान हुन् ।  ‘पहिलो सन्तान तिम्ल्याहा जन्माएर सकुशल रहेकोमा खुसी झन् बढेर गएको छ’ उनले भनिन्, ‘तर, ईश्वरले जे चाहे, त्यो गरे । हाम्रा लागि यो दुर्लभ खुसी हो । घरमा श्रीमान्, बुबाआमा, सबैजना खुसीले गद्गद् हुनुहुन्छ ।’

२९ हप्तामै जन्मिएका तीनै जना सन्तान र सपनाको स्वास्थ्य अवस्था सामान्य रहेको उनले सुनाए । लामो समयदेखि गर्भ नरहेपछि आईभीएफ पद्दतिद्वारा गर्भ रहेको थियो । गर्भ रहेदेखि डा. दाहाललाई नियमित जाँच गराउँदै आएको उनी बताउँछिन् ।