मोरङ । विराटनगर महानगरपालिकाले पहिलो चरणमा ४ सय २ कुकुरको बन्ध्याकर गराएको छ ।

महानगरले गत सोमबारदेखि कुकुर बन्ध्याकरण अभियान सञ्चालन गरेको थियो । अभियान अन्तर्गत सामुदायिक कुकुरहरूको बन्ध्याकरण गरी रेबिजविरुद्धको खोपसमेत लगाइएको पशुपंक्षी विकास शाखाका प्रमुख शुभनारायण यादवले जानकारी दिए ।

महानगरका मेयर नागेश कोइरालाको उपस्थितिमा गत मङ्सिर १९ गते विशेष समारोहका बीच अभियान शुभारम्भ गरिएको थियो । वडानम्बर १८ बाहेकका सबै वडाबाट कुकुर नियन्त्रण गरेर बन्ध्याकरण गरिएको यादवले बताए ।

विराटनगर–१९ मा रहेको पशुसेवा सम्पर्क कार्यालयमार्फत् बन्ध्याकरण गरिएको थियो । सहारा एनिमल केयरसँगको सहकार्यमा गरिएको अभियानमा बन्ध्याकरण र रेविजको खोप लगाएपछि सम्बन्धित कुकुरलाई नियन्त्रणमा लिएकै स्थानमा लगेर छाडिएको थियो ।

दोस्रो चरणको अभियान माघमा सञ्चालन गरिनेछ । दोस्रो चरणको अभियानमा महानगर र सहाराले ६–६ सय कुकुरको बन्ध्याकरण र रेविजविरुद्धको खोप लगाउने जनाइएको छ ।