भद्रपुर । हल्दिबारी गाउँपालिका वडा नं. ४ को कालीमन्दिर टोलमा आइतबार बिहान करिब सवा दुई बजे चारकोशे जङ्गल जलथलबाट निस्किएका जङ्गली हात्तीको आक्रमणमा परी ४ जना घाइते भएका छन् ।

घाइते हुनेहरूमा हल्दिबारी–५ का ५५ वर्षीया गौरादेवी पौडेल, सोही ठाउँका ६० वर्षीय नगेन्द्र पौडेल, अन्दाजी ४५ वर्षीया पार्वतादेवी पौडेल र अन्दाजी ४० वर्षीय चेतन पौडेल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

दुई परिवारका चार सदस्य घाइतेहरूको मेची प्रादेशिक अस्पताल भद्रपुर र बी एण्ड सी बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

स्थानीय जयप्रकाश दाहालको अन्दाजी १ बिगाहाको धान पूर्णरूपमा क्षति गरेको छ भने विजय लावतीको थ्रेसर लगाएको धान करिब ६ मन जति खाएर छरिदिएको स्थानीय प्रल्हाद सिलवालले जानकारी दिए ।

त्यसैगरी हात्तीले धनबहादुर गहतराजको अटोमा समेत क्षति पुर्याएको छ । दाहालको खमारमा रहेको अन्दाजी १ बिगाहाको कुन्युको धान पूर्णरूपमा क्षति गरेको छ ।

त्यसपछि हात्ती गाउँमा पस्ने देखेर गाउँलेले प्रहरीको सहायतामा हात्ती नियन्त्रण गर्ने र बस्तीको संरक्षण गर्ने क्रममा हात्तीले लखेटेर भागदौड हुँदा स्थानीयहरू घाइते भएका जलथल प्रहरी चौकीले जनाएको छ । केही वर्षयताबाट झापाका दक्षिणीक्षेत्रमा हात्तीले दैनिकजसो आतङ्क मच्चाउँदा यो क्षेत्रका जनता समस्यामा परेका छन् ।