धरान । हिमालयन बैङ्क लिमिटेड प्रादेशिक कार्यालय विराटनगर र मादी शाखा, सङ्खुवासभाको संयुक्त आयोजनामा ‘वित्तीय साक्षरता कार्यक्रम’ सम्पन्न भएको छ ।
शुक्रबार मादी नगरपालिकाका नगर प्रमुख जीवनकुमार लिङ्थेपको प्रमुख आतिथ्यमा नगरपालिकाकै सभाहलमा सम्पन्न कार्यक्रममा विभिन्न वडाका अध्यक्ष तथा सदस्य, राजनीतिक दलका प्रतिनिधि, विद्यालयहरूका प्राचार्य, शिक्षा शाखा प्रमुख, मादी बजारका व्यवसायीहरू, विद्यार्थी र महिलाहरू गरी करिब ७० जना सहभागी थिए ।
कार्यक्रममा बोल्दै नगर प्रमुख लिङ्थेपले दूरदराजका जनतालाई भौगोलिक विकटताको बावजुद हिमालयन बैङ्कले मादी, ओखरबोटेमा शाखा विस्तार गरी आधुनिक बैङ्किङ सेवा प्रदान गरेकोमा धन्यवाद ज्ञापन गरे । उनले साना व्यवसायी र कृषि क्षेत्रमा पनि लगानी गरिदिन आग्रह गरे ।
कार्यक्रममा हिमालयन बैङ्क लिमिटेड प्रदेश १ प्रमुख अमृत मल्लले बैङ्क सेवामूलक नाफा आर्जन गर्ने संस्था भए पनि हिमालयन बैङ्कले संस्थागत सामाजिक उत्तरदातित्व कार्यक्रममार्फत् समाजका विभिन्न क्षेत्रहरूमा आर्थिक एवम् भौतिक सहयोग पु¥याउँदै आएको बताए । उनले वित्तीय साक्षरता कार्यक्रमको बारेमा समेत प्रकाश पारेका थिए ।
त्यसैगरी बैङ्कको प्रदेश कार्यालय र हिले शाखा धनकुटाले शनिबार पाख्रीबासमा पनि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । पाख्रीबास नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरुङको प्रमुख आतिथ्यमा नगरपालिकाकै सभा हलमा भएको कार्यक्रममा विभिन्न वडा प्रतिनिधि, विद्यालयका प्राचार्यहरू, इलाका प्रहरी कार्यालय प्रमुख, स्कुल÷क्याम्पसका विद्यार्थी र महिलाहरूको सहभागिता थियो ।
उक्त वित्तीय साक्षरता कार्यक्रमहरूमा प्रादेशिक कार्यालय विराटनगर र शाखा कार्यालय धरान, हिले र मादीका कर्मचारीहरूले बैङ्क के हो ? वित्तीय साक्षरताको महत्व किन छ ? वित्त व्यवस्थाको लागि व्यक्तिगत र पारिवारिक बजेट कसरी तयार गर्ने ? बचत गर्ने बानी कसरी सुधार गर्न सकिन्छ ? सहुलियतपूर्ण ब्याज अनुदान कर्जा के हो र यो कसरी प्राप्त गर्न सकिन्छ ? विप्रेषण भनेको के हो र यसको सही सदुपयोग कसरी गर्ने, हुण्डी के हो र यसले कसरी अर्थतन्त्रमा नकारात्मक असर पार्छ ? सफा नोट नीति के हो ? कसरी नोटहरूको जतन गर्न सकिन्छ ? जस्ता वित्तीय साक्षरतासम्बन्धी विषयमा जानकारी गराएका थिए ।
