पृष्ठभूमिः 
हाम्रो गाउँका काका, मामा र दाजुहरु वर्षौं वर्षसम्म कोइलाखादमा हराएको कथा हामीले सानोदेखि नै सुन्दै आएका थियौँ । कोही कोही केही दशक हराएका सुन्थ्यौं भने कोही दशकौँ हराए । ती कहिल्यै फर्किएनन् । गाउँघरका ठूलाबडाबाट यस्ता कुराहरु सुन्दा अचम्म त लाग्थ्यो नै; सँगै बनिबनाउ कथा होला भन्ने पनि लाग्थ्यो । कतिपय अवस्थामा मिथक झैं लाग्थे ।

यस्ता मिथक जस्ता, फिल्मका पात्र जस्ता लाग्ने उनीहरुको कथा पढ्न भने पाइएको थिएन । २०८१ सालमा आख्यानकार श्याम सिङ्घकले लामो तपश्या पछि ‘कोइलाखाद’ भन्ने उपन्यास लिएर आइपुगे । उनको यसअघिको ‘रेमिटल्याण्ड’ पनि पढ्ने अवसर प्राप्त गरेको थिएँ । तर रेमिटल्याण्डभन्दा पृथक् कथा हो कोइलाखाद । तेस्रो आख्यानको रुपमा रहेको कोइलाखादले करिब साढे चार दशकको इतिहासलाई छर्लङ्ग मात्रै पार्दैन । त्यो कति विद्रुप थियो, कति कहालीलाग्दो थियो, कति भयानक थियो भन्ने दृश्यहरु पनि मनमा खेल्न पुग्छन् । फिल्ममा देखे जस्तो ‘माइनिङ कम्पनी’ मा काम गर्ने मजदुरको दृश्य आँखाका वरिपरि नाच्न पुग्थे । यसलाई आख्यान मात्रै भनेर पुग्दैन । यो ‘इतिहासोख्यान’ हो भन्ने मेरो बुझाइ हो । यो इतिहास र आख्यानको सम्मिलनबाट तयार भएको दस्तावेज हो । यस्ता दस्तावेजहरु सायदै पढ्न पाइन्छ ।

स्वाभाविकै रुपमा इतिहासलाई आख्यानको रुपमा ढालिएका थुप्रै आख्यानहरु छन् । तर ती स्वैरकल्पनाले भरिभराउ हुन्छन् । उपन्यासकारले आफ्नो कल्पनाको लेप लगाएर उपन्यासको रङ दिन्छन् । तर यो उपन्यासमा आख्यानकारले त्यसरी कल्पनाको लेप लगाएका छैनन् । ध्रुवचन्द्र गौतमको अलिखित, धच गोतामेको घामका पाइलाजस्ता पात्रहरु छन् । पात्र जीवन्त छन् । किनाराकृत भएका पात्रहरुको संयोजन नै कोइलाखादले बोकेको एउटा जीवन्त इतिहास हो । कामको खोजीमा नेपालबाट बाहिरिने प्रचलन धेरै पहिलादेखि नै हुँदै आएको छ । यसैको निरन्तरता हो मेघालयसम्मको नेपालीहरुको यात्रा । यो यात्रामा थुप्रै यात्रीहरु छन् । जुन यात्रीहरु निस्सार जीवन बाँचेका छन् ।

ती नेपालीहरु जसको जीवनको खासै उद्देश्य छैन । तर छ त केवल सङ्घर्ष, पीडा, यातना, तिरस्कार र भय । करिब साढे चार दशकको त्यो भय, तिरस्कार, दुःख, पीडालाई यसरी बुनेका छन् कि जसरी स्वेटर बुनिन्छ । कोइलाखादले सङ्घर्षमय जीवन मात्रै बोल्दैन; नेपालीको सामाजिक, आर्थिक र सांस्कृतिक पक्षलाई पनि उजागर गरेको छ । मेघालयमा बसेका दाजुभाइहरुले नयाँ संस्कृतिसँग अन्तरघुलन हुन पनि सिकेका छन् । किताबका बारेमा राजम मुकारूङले गरेको सानो टिप्पणी यस्तो छ, “भारत, मेघालयका खासी जातिको संस्कृति र परम्परासँग नेपाली संस्कृति र परम्पराले गरेको अन्तरघुलनका साथै नेपाली तथा खासी मान्यताहरुका भिन्नता र द्वन्द्वहरुलाई प्रेमकथामार्फत् एकाकार गर्दै तत्कालीन समाजको आर्थिक र सांस्कृतिक पक्षलाई पेचिलो गरी लेखिएको यो उपन्यासमा कोइलाखानी सञ्चालन र अन्त्यको इतिहाससमेत झल्किन्छ ।”

सङ्घर्षमय जीवनलाई डो¥याउन प्रत्येक दिन जसो मनोरञ्जनमा संलग्न भएका छन् । हरेक दिन कालकोठरीबाट निक्लेर आनन्दको श्वास फेरेका छन् । कतिखेर जीवनको अन्त्य हुने हो भन्ने टुङ्गो छैन र, पनि कालो सुरूङमा छिरेर कोइलाका बाक्सा भर्ने ध्याउन्नमा संलग्न छन् ।

सवाल्टर्न पात्र
उपन्यासमा आएका पात्रहरु ग्रामीण जनजीवनका छन् । ग्रामीण जनजीवनबाट हुर्केका उनीहरु त्यहाँ पनि सोही परिवेशसँग अभ्यस्त भएका छन् । बहुल पात्रको संयोजन नै यो उपन्यासको प्राण हो । त्यसमा पनि सवाल्टर्न पात्रहरुको संयोजनले यो उपन्यास प्रयोगवादी बनेको छ । ग्रामीण जनजीवनलाई यथार्थपरक ढङ्गबाट प्रस्तुत गर्न सफल छन् आख्यानकार । आख्याकारले कथावस्तुलाई मिहीन ढङ्गले बुनोट गरेका छन् । पात्रको मनोदशालाई केलाएका छन् । यतिसम्म कि कतिपय पात्रहरु आउँछन्; हराउँछन् भने कतिपय पात्रहरु पाठकको मनबाट हराउन सक्दैनन् । कथानकमा हराएका पात्रहरु पनि पाठकको मनमा हराएका छैनन् । यो लेखकीय क्षमता हो । जस्तो उपन्यासका प्रमुख पात्रको रुपमा आएका लोचन कथानकमा थुप्रै पटक हराएका छन् । तर पाठकले उक्त पात्रलाई खोजिरहन्छ । यस्तै कथाकी नायिका रुथ पनि बेला बेलामा हराउँछिन् तर पाठकको मनबाट हराउन सक्दैन । 

कोइलाखादको इतिहास
यो एउटा इतिहासलाई उधिनिएको कथा हो । धेरै कथाकार, आख्यानकारहरुले नजरअन्दाज गरिरहेको विषयलाई उठान गरेर उनले इतिहासोख्यान तयार पारेका छन् । “काल्पनिक र फ्यान्टसी उपन्यासभन्दा यस्ता समाजका वास्तविक घटना ऐतिहासिक परिवेशलाई समेटेर सिर्जना गरिएका कृतिहरु अमर हुन्छन् र समाज बुझ्न चाहनेहरुका लागि यस्ता कृतिहरु सदैव महत्वपूर्ण हुन्छन्” –भोगेन्द्र कट्टेलले आफ्नो फेसबुकमा वैशाख २२ मा लेखेका छन् । साँच्चै उनले भनेजस्तै यो एउटा काल्पनिक उपन्यास होइन । इतिहासमा हराएका, छुटेका पात्रहरुलाई समेटेर तयार पारिएको उपन्यास हो । पानाहरु पल्टिँदै जाँदा जिज्ञासाहरु जन्मिरहन्छन्; खासगरी केही पात्रहरुको हकमा । 
कथाभित्रका कथाहरु, पटकथाभित्रका पटकथाहरुलाई यसरी सरलीकरण गरेर बुनेका छन् कि त्यहाँको जालबाट कोही पनि पर भाग्न सक्दैन ।

कोइलाखादका दृष्टिकोणः 
कोइलाखाद एउटा कोणबाट मात्रै हेर्दा सपार्ट देखिन सक्छ । जस्तो कोइलाखादमा भासिएका नेपाली दाजुभाइले पाएको दुःख, पीडा, हाँसोआँसु, रोदन मात्रै लाग्न सक्छ । तर विभिन्न कोणबाट हेर्ने हो भने उपन्यासले अनेकन् चिन्तनलाई बोकेको छ । जहाँ पात्रहरुले आफ्नो संस्कृति, संस्कार र परम्परालाई जीवन्त राख्न चाहेका छन् । जहाँ गए पनि नेपालीले आफ्नो संस्कार, संस्कृति भुल्न सक्दैन । ऊ प्रकृतिसँग नजिक रहिरहन्छ भन्ने परिदृश्यहरु कथानकमा आइरहन्छन् । अर्कोतिर खासी जातिको बाहुल्य रहेको क्षेत्रमा नेपालीहरु उनीहरुसँग सामजश्य भएका छन् । उनीहरुको संस्कार, संस्कृतिमा दखलअन्दाज गर्दैनन् । उल्टो त्यो संस्कृतिलाई पनि आफूसँग समाहित गर्छन् । संस्कृतिको फ्युजनले मेघालयको वातावरण, परिवेशमा नयाँ तरङ्ग पैदा गरेको छ । खासीहरुले पनि नेपाली संस्कृतिलाई नजिकबाट नियालेका छन् । सिकेका छन् र आत्मिक हुन खोजेका छन् । त्यसैले त ४ दशकसम्म खासीको देशमा नेपालीहरु टिकेका छन् ।

अर्को कोणबाट हेर्दा नेपालीहरु पलायनवादी मानसिकताबाट गुज्रिएका छन् । मेघालय गएपछि खासै नेपाल नफर्किने प्रवृत्ति देखिन्छ । जुवा, तास, चिठ्ठा, जाँडरक्सी आदिमा मग्नमस्त बनेका छन् । यो एक प्रकारले भन्ने हो भने पलायनवादी मानसिकता हो । घरपरिवारलाई त्यागेर प्रवासमा मस्त भएका छन् । उनीहरुमध्ये केही मात्रै गाउँ फर्किएका छन् । फर्किएकाहरु पनि पुनः कोइलाखाद पुगेका छन् । मेघालयमै जन्मिएका कतिपयले त आफ्नो देशको नाम मात्रै सुनेका छन् । नेपाल सूच्यरुपमा मात्रै आएको छ । भविष्यमा के गर्ने भन्ने कुनै निश्चित कार्यदिशा छैन र पनि काम गरिरहेका छन् । यो नै पलायनवादी मानसिकताको उपज हो ।

अर्को कोणबाट हेर्दा नेपालीहरु जस्तोसुकै कठिनभन्दा कठिन सङ्घर्ष गर्न पनि पछि हट्दैनन् । मुसाको दुलोमा प्रवेश गरे झैं प्रवेश गरेर कोइला काट्नु, उक्त दुलोमा पसेर कोइला काटिरहँदा कतिखेर जीवनको लीला समाप्त हुन्छ भन्ने थाहा छैन र पनि सङ्घर्षलाई आत्मसात गरेका छन् । कोइला काट्ने क्रममा पुरिएर, थिचिएर, अक्सिजनको मात्रा नपुगेर धेरैले ज्यान गुमाएका पनि छन् । सुरक्षा छैन, सुरक्षित छैनन् र पनि काममा दत्तचित्त छन् ।

रैथानेपनको कोणबाट हेर्दा मेघालयले आफ्नो अस्तित्व र पहिचान कोइलाकै कारण गुमाउँदै गएको देखिन्छ । कोइलाबाट खासीहरुले पैसा त कमाएका छन् तर मौलिकता गुमाउँदै गएका छन् । त्यहाँको जैविक विविधता गुमाउँदै गएका छन् । आदिवासी खासीहरुले आफ्नो रैथानेपन गुमाएकोमा चिन्ता पनि व्यक्त गरिएको छ तर त्यसलाई रोक्न सकिएको छैन । खासीको जीवन प्रकृतिसँग जोडिएको छ, भूमिसँग जोडिएको छ । भूमिपूजकको रुपमा देखिन्छन् । उनीहरुको जीविकोपार्जन, जीवनशैली नै भूमिसँग गाँसिएको छ । तर त्यही भूमि कोइला खानीको नाममा बञ्जर बन्दै गएको छ । उनीहरुको मौलिकता गुम्ने खतरामा छ ।

कोइला बेचेर मौलिक घरहरु पक्कीमा परिणत गरेका छन् । गाउँघरहरु बजार भएका छन् । बजारमा अनेक किसिमका चिजबिज पाउन थालेका छन् । खासीहरुको जीवनशैलीमा परिवर्तन आएको छ । जङ्गल गई कन्दमूल खोज्ने, सिकार खेल्ने उनीहरुको दैनिकीमा फेरबदल आएको छ । आज सिकार पाउन छाडेको छ । दिनभरि हिँड्दा पनि सिकार नपाएको प्रसङ्गले त्यो कुरालाई इङ्गित गरेको छ । खासीहरुले कन्दमूल खोज्न छाडेका छन् । सिकार खेल्ने ठाउँहरुमा ठूलाठूला मेसिनहरु उभिएका छन् । ठूलाठूला आवाज निकालेर मेसिनले मेघालयको अस्तित्वलाई मूच्र्छित बनाएको छ ।

त्यति मात्रै हैन, खासीहरुले आफ्नो मूल धर्म छाडेर नयाँ धर्मलाई स्वीकारेका छन् । इसाईकरण हुने क्रम तीव्र छ । आफ्नो कुल, धर्म, परम्परा र संस्कृति पूर्णरुपमा भुल्दै गएका छन् । यसले पनि कालान्तरमा खासीहरुको अस्तित्व नामेट हुँदै छ भन्ने सङ्केत दिन खोजेको छ ।
उपन्यासमा खालि कोइलाखादमा काम गर्ने नेपाली कामदारको दुःखपीडा, मनोदशा मात्रै छैन । त्यहाँका मूलवासीहरुको समस्याहरुलाई पनि उजागर गरेका छन् । जैविक विविधताले युक्त मेघालयको अस्तित्व सङ्कटमा परेको देखाउनु उपन्यासकारमा भएको वातावरणीय चेतले काम गरेको छ ।

सरल भाषाशैली
भाषाशैलीका दृष्टिले उपन्यास एकदमै सरल छ । आम नेपालीहरुले बोलिने भाषाको प्रयोग गरिएको छ । कथ्य भाषाको व्यापक प्रयोग छ तर उपन्यासकारले खासीसँगको वार्तालापमा भने नेपाली भाषा नै प्रयोग गरी उपन्यासको जीवन्ततालाई जोगाउन सकेका छैनन् । यो चाहिँ उपन्यासकारमा त्यहाँको भाषाप्रतिको निराशा नभई भाषिक ज्ञानको अभाव हो कि भन्ने देखिन्छ । उपन्यासमा कथ्य भाषाको प्रयोग गर्दा भरसक सोही स्थानको भाषालाई तत्कालीन समय र परिवेशलाई ध्यान दिएर लेखिनुपर्छ तर पढ्दाखेरि हालसालैको भाषाको पनि गन्ध आएको छ । यसमा उपन्यासकार चुकेका छन् ।

बिम्ब, प्रतीकहरुको प्रयोग पनि सरल किसिमको छ । समग्रमा यो उपन्यास मेघालयमा गएका नेपाली दाजुभाइको दुःख पीडा, आक्रोस, मनोदशा, डर, भय आदिको कथा हो । पूर्व बस्ने प्रत्येक दाजुभाइको कथा हो ।

निष्कर्ष
यो उपन्यास एउटा पात्रको मात्रै कथा होइन । समग्र मेघालयमा गएर कोइला खनेर गुजारा गर्ने नेपालीको कथा हो । यो एक प्रकारको अन्तहीन कथा हो । मेघालय गएका प्रत्येक नेपालीहरुले गरेको सङ्षर्घ, पीडा, दुःखको कथा हो । यो कथाको कथानकहरु यसै सकिँदैनन् । पटकथाहरु यसै सकिँदैनन् । यो इतिहासलाई जीवन्त राख्ने आख्यान हो । त्यसकारण यसलाई इतिहासोख्यान भन्न रूचाउँछु । यहाँ आख्यान मात्रै छैन । साढे चार दशकको इतिहास छ । कोइला खन्न सुरू भएदेखि कोइलालाई कानूनी रुप नदिएसम्मको कथा हो । यो कथामा थुप्रै पात्रहरु बीच बीचमा हराएका छन् । पुरिएका छन् । मरेका छन् । मारिएका छन् । जन्मिएका छन् । बुढ्यौलीमा पुगेका छन् । एउटा सपना लिएर पुगेकाहरु अर्को सपनामा रूमल्लिएका छन् । खास भन्ने हो भने यो आख्यान हराएकाहरुको, प्रवासमा भासिएकाहरुको कथा हो । कोइलाले निलेको कथा हो ।