भूपेन्द्र तिम्सिना,
मोरङ / उत्तरपूर्वी मोरङको लेटाङभोगटेनी–४ स्थित धिमाल जातीको ऐतिहासिक पोखरी राजारानी क्षेत्रमा अन्तरधार्मिक शान्ति पार्क निर्माण हुने भएको छ । त्यसका लागि सरकारी चासो समेत बढेको छ । राजारानी पर्यटन क्षेत्र विकासका लागि थालिएको परियोजनामा अन्तरधार्मिक पार्कको अवधारणा अगाडि बढेको हो । लेटाङ्भोगटेनी नगरपालिकाको सक्रियतामा राजारानी पोखरी वरिपरीको रमणीय डाँडामा अन्तर धार्मिक शान्ति पार्क बन्ने कुराको जानकारी पाएपछि शान्ति तथा पुननिर्माण मन्त्री शान्ति तथा पुन निर्माण मन्त्री एकनाथ ढकालले त्यसमा सरकारी सहयोग हुने बताएका छन् । उनले लेटाङभोगटेनी नगरपालिकाले राखेको जानकारीमुलक कार्यक्रममा भने ‘यसखाले पार्कले शान्ति स्थापनामा ठूलो मद्धत पुर्याउँदै विश्वको ध्यान नेपालतर्फ तान्न सक्छ । यसका लागि सरकारी तबरबाट सहयोग हुने आश्वासन दिन चाहन्छु ।’
पार्क निर्माणमा आर्थिक स्रोत जुटाएर समग्र परियोजना सम्पन्न गर्नका लागि लेटाङभोगटेनी नगरपालिकामा छलफल समेत सम्पन्न गरी मन्त्री ढकाललाई आर्थिक सहयोगको अपेक्षाका साथ ज्ञापनपत्र बुझाइएको छ । ‘यस क्षेत्रमा पार्क बनेमा धार्मिक पर्यटकीय आकर्षणको केन्द्रका साथै धार्मिक संग्रहालयका रुपमा समेत निकै महत्वपूर्ण हुनेछ ।’– नगरको विकासमा नविन योजना ल्याउन सक्रिय नगरपालिकाका कार्यकारी अधिकृत युवराज आचार्यले भने । पार्क निर्माणका लागि बृहत परियोजना प्रस्ताव (डीपीआर) तयार गर्न नगरविकास कोषलाई नगरपालिकाले अनुरोध गरेको छ डीपीआर तयार भएपछि लागत, संरचना र स्वरुपको कुराको यकिन हुने कार्यकारी अधिकृत आचार्यले जनाए । उनले एउटा पहाडलाई नै धार्मिक केन्द्र मानेर डाँडोको तल्लो भागमा चक्रपथ बनाईने र सोही चक्रपथबाट माथितिर जानका लागि सवै धर्मको प्रवेशद्वार बनाईने योजना सुनाए । ‘त्यहाँ प्रवेश गर्दा हरेक मानिसलाई धार्मिक सहिष्णुताको अनुभूति गराउने छ भन्ने हामीले विश्वास लिएका छौं ।’– उनले थपे ।
पार्कका लागि डा. सोमप्रसाद खतिवडाले अन्वेषण गरी कन्सेप्ट तयार पार्ने काममा लागेका छन् । सो कन्सेप्टमा थप घोरिएर त्यसलाई मूर्तरुप दिने भौतिक संरचनाको स्वरुप पूर्वका प्रख्यात कलाकार विक्रमश्रीले गर्नेछन् । ‘पैगोडा, मुगल, गुम्बज र शिखर शैलीको समिश्रण गरेर पार्क निर्माण गरिने योजना बनाउँदै छु ।’– विक्रमश्रीले भने ।
वडानम्बर ४ मा रहेको ऐतिहासिक राजारानी पर्यटन क्षेत्र विकासको परियोजना स्थल धिमाल जातिको उद्गमस्थलका रुपमा रहेको डाँडो हो । ४ सय ५० मिटर उचाईको डाँडामा २ वटा पोखरी र आसपासको क्षेत्रमा नेपालका दुर्लभ सहितका ४८ प्रकारका सुनाखरी पाइने तथा अन्य पर्यावरणीय हिसावले पनि निकै महत्वपूर्ण पर्यटकीय सम्भावनाको स्थल हो । डाँडाबाट पूर्वतर्फको लेटाङ बजार तथा आसपासको वनको मनोरम हरियाली अवलोकन गर्न सकिन्छ ।
अन्तरधार्मिक शान्ति सञ्जाल अन्तर्गत आवद्ध रहेका विभिन्न धार्मिक सम्प्रदायको पहिचान झल्किने गरी पार्क निर्माण गरिने छ । धर्मका विषयमा मावन समुदायमा घृणा, द्धैष र विभेद नगरौं भन्ने सन्देश प्रवाहका लागि अन्तर धार्मिक शान्ति पार्क बनाउनुको मुख्य उद्देश्य रहेको स्थानीय समाजसेवी भूपेन्द्र लावतीले प्रष्ट्याए । त्यहाँ हिन्दु, किरात, इसाइ, मुस्लिम, वौद्ध सहितका संसारका प्रमुख धर्महरुको प्रतिनिधित्व हुनेगरी पार्कस्थल खडा गरिने छ ।
क्रमागत रुपमा करोडौको लगानीमा बन्ने पार्कमा सवै धार्मिक आस्थाले आनन्द र शान्ति अनुभूति गर्ने भावनाले ओतप्रोत गराउने पार्कभित्र धार्मिक आस्थाका ग्रन्थहरु, बाजागाजा, साँस्कृतिक महत्व, पूजाआजाका सामग्री समेत राखिनेछन् ।