शनिश्चरे/ मोरङको जाँतेमा रहेको ओलाहाङ झर्ना क्षेत्रलाई पर्यटकीय रुपमा विकास गर्न बनेको योजना साकार पार्न रकम जुट्न थालेको छ ।
जसका लागि पछिल्लोपटक नेपाल पर्यटन वोर्डबाट १५ लाख रुपैयाँ तोक लागेको जाँते चिनारी तथा पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष इन्द्र ढकालले बताए । यसअघि पर्यटन वोर्डबाट १ लाख ५० हजार, इलाकास्तरीय योजना तर्जुमा समितिबाट ५ लाख र जिल्ला विकास समितिबाट ४ लाख रुपैयाँ प्रदाbanन भएको थियो । ‘अब करीब २५ लाख रुपैयाँ थप जुट्न सकेमा झर्ना क्षेत्रलाई पूर्वको झापा, मोरङ र सुनसरीका लागि पूर्वपश्चिम लोकमार्गबाट नजिक ठूलो झर्नाको सहज दृश्यावलोकन गराउन सकिने छ’, ढकालले भने । अघिल्लोपटक जम्मा भएको जम्मा १० लाख ५० हजारबाट झर्नासम्म पुग्ने बाटो निर्माण गरिने ढकालले उल्लेख गरे । उनले जाँते–३ र ५ नम्बर वडाबाट झरनासम्म पुग्ने बाटो निर्माण गरिने तथा बाँकी १५ लाखले त्यस वरपर पिकनिकस्थल सहितका भौतिक संरचना निर्माण गरिने योजना सुनाए ।
यसअघि झर्नासम्म बाटो पु¥याउनका लागि गाविस र स्थानीयवासी मिलेर ५ सय मिटर लामो बाटो निर्माणको काम भएको थियो । अब १ किलोमिटर ६ सय मिटर बाटो निर्माण गर्ने लक्ष्य छ । बाँकी डेढ किलोमिटर क्षेत्रमा भने गोरेटो मात्र निर्माण गरी पर्यटकलाई रमणीय दृश्य हेराउँदै झर्नासम्म पु¥याउने लक्ष्य समितिले राखेको छ । अब पूर्वाधार निर्माणको काम थालेर एक वर्षमा पूरा गर्ने समितिको योजना छ ।
जिल्लाको पथरीशनिश्चरेको पथरी चोकबाट ८ किलोमिटर उत्तरमा पर्ने जाँतेको मदन चोकबाट थप ४ किलोमिटर उत्तरमा निकै महत्वपूर्ण ओलाहाङ झर्नालाई प्रमुख पर्यटकीय क्षेत्रका रुपमा विकास गराउँदै जाँतेको सम्भावना उजागर गर्न गत वर्ष समिति गठन भएको थियो ।