तरहरा/ सुनसरीको इटहरी उपमहानगरपालिका–२३ मा गणेशमान सिंह स्मृति सिमसार पार्क बन्ने भएको छ । वनभोज स्थलको रुपमा विकास हुँदै गएको सो क्षेत्रलाई सरकारले १५ लाख रुपैयाँ छुट्याएसँगै सोमबार पार्क निर्माण गर्न शिलान्यास भएको छ ।
वनभोज स्थल व्यवस्थापन गर्न भन्दै सरकारले १५ लाख रुपैयाँ र इटहरी उपमहानगरपालिकाले ५ लाख रुपैयाँ दिएपछि पार्क व्यवस्थित गर्न थलिएको हो । पार्कभित्रको पोखरी सरसफाइ गर्ने, पोखरीमा कमलको पूmलको चित्र बनाउने र त्यसमाथि शेषनागको टाउकोमा श्रीकृष्णको मूर्ति बनाउने काम शुरु भएको पार्क विकास समितिका अध्यक्ष काजीलाल गिरीले बताए । उपमहानगरपालिकाले दिएको ५ लाखबाट भने पार्कमा पानीको व्यवस्था तथा अन्य कटेज बनाउँदै सुन्दर बनाउन घेराबाराको लागि काम तीब्ररुपमा हुँदै गएको अध्यक्ष गिरीले बताए । गणेशमान फाउण्डेसन जिल्ला समितिका अध्यक्ष मदनप्रसाद श्रेष्ठले सोमबार पार्कको शिलान्यास गरेका हुन् ।
शिलान्यास कार्यक्रममा नेपाली काङ्ग्रेसका सुनसरी सभापति  राजीव ढुङ्गाना, काङ्ग्रेस २ नम्बर क्षेत्रीय सचिव मणिराम श्रेष्ठ, काङ्ग्रेस नेताहरु दिलकुमार वन, मचिन्द्र खवास, हरिनारायण चौधरी लगायत उपस्थित थिए ।