भोजराज श्रेष्ठ
/ लोडसेडिङ बढेपनि अचेल धरानको सडक २४ सै घण्टा उज्यालो हुने गरेको छ । छाताचौकदेखि लक्ष्मीचोकसम्म र भानुचौकदेखि बरगाछीसम्मको मुख्य सडकमा हिँड्ने बटुवाहरु रातको समयमा आइपुगे पनि विदेशको अनुभूति गर्न पाउँछन् ।
धरान उपमहानगरले
सौर्य सडकबत्ती जडान गरेपछि अहिले यी सडकमा २४ सै घण्टा उज्यालो हुने गरेको हो । उपमहानगरले ६५ वटा सौर्य सडकबत्ती जडान गरेको छ । जसमा २० प्रतिशत स्थानीयको जनसहभागिता छ । सुनसरी उद्योग वाणिज्य सङ्घको पहलमा धरान उपमहानगरले सौर्य सडकबत्ती जडान गरेर धरानवासीलाई थप सुरक्षित बनाएको हो । यसले गर्दा धरान सुरक्षित मात्रै हुँदैन । विद्युतको राष्ट्रिय प्रशारणमा समेत भार कम हुने विश्वास गरिएको छ । पहिलो चरण अन्तर्गत करीब ६० लाख रुपैयाँ लागतमा सौर्यबत्ती जडान गरिएको हो ।
धरान उपमहानगरलाई सडक बत्तीको मात्रै ४ करोड रुपैयाँभन्दा बढी रकम तिर्नु पर्ने दायित्व छ । यो दायित्वलाई कम गराउन उमपहानगर कस्सिएको छ । ‘७ करोडको सौर्य सडकबत्तीको लागि केन्द्रमा पत्र पठाइसकेका छौं’, कार्यकारी अधिकृत टीकादत्त राईले भने । उनका अनुसार यसबाट १७ सय सौर्य सडकबत्ती थपिने छन् । ती सडकबत्ती थपिएसँगै हाल रहेको सडक बत्तीहरु विस्थापन गर्दैै लगिने छ ।
हाल धरानभरि ६४ सय सडकबत्ती छन् । ती सडकबत्ती हटाउन सकेमा विद्युत्भार चाप घट्ने अधिकृत राईले बताए । ‘बिजुलीबाट बल्ने पोलहरु हटाउँदै जाने उद्देश्य हो ।’ आर्थिक वर्ष २०७२÷७३ को बजेटमै देशभरि २ सय मेगावाट सौर्य उर्जा उत्पादन गरिने बताइएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने घोषणा मात्रै गरेनन्, २ सय मेगावाट सौर्य ऊर्जा उत्पादन गरिने बताएका थिए ।
सरकारको नीति तथा कार्यक्रममै परेपछि धरानले पनि सौर्य सडकबत्तीको अवधारणा अघि बढाएको सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सरोज श्रेष्ठले बताए । ‘हाम्रो सोचचाहिँ अहिले चलिरहेको सिसी टिभीलाई सञ्चालन गर्न सहज होस् भन्ने थियो । तर, हाइटेन्सनलाइन भएकाले त्यो सम्भव पनि भएन । र, सरकारले पनि त्यसलाई स्वीकृत दिएन’, अध्यक्ष श्रेष्ठ भन्छन् । सुरक्षाको दृष्टिले पनि छाताचौकदेखि लक्ष्मीचोक र भानुचौकदेखि बरगाछीसम्म शुरुमा राखिएको उनले बताए । ‘अधिकाङ्श व्यापारिक क्षेत्र यही ठाउँमा पर्ने हुँदा शुरुमा मुख्य सडकमै लगाएका हौं’, अध्यक्ष श्रेष्ठ भन्छन् ।
धरानमा ९ मिटरको पोलमा ४० वाटको एलइडी अटोकट सिस्टमको सौर्यबत्ती जडान गरिएको छ । ‘घाम नलागे पनि जसको ब्याकअप २४ सै घण्टा रहन्छ’, उपमहानगनर योजना शाखाका बरिष्ठ इञ्जिनियर सुरज श्रेष्ठ भन्छन् । धरान उपमहानगरले केन्द्रमा पठाएको ७ करोडको प्रस्ताव राष्ट्रिय योजना आयोगबाट पास भइसकेको र अर्थ मन्त्रालयमा पठाउने तयारी भइरहेको बुभ्mनमा आएको इञ्जिनियर श्रेष्ठले बताए ।
जनसहभागितामा आधारित सौर्य सडकमा सरकारले ६५ प्रतिशत, स्थानीय निकाय र जनताबाट ३५ प्रतिशतको साझेदारीमा निर्माण हुन लागेको हो ।