संखुवासभा/ मकालु(८४६३) हिमाल आरोहण गर्ने क्रममा मंगलबार राती दुई जना आरोही गाइडको मृत्यू भएको छ । छ हजार सात सय मीटरमाको उचाईमा क्याम्पीङ गरी राती सुत्ने क्रममा अक्सीजनको कमी हुदाँ सोलुखुम्बु जुविङ– १ का दातेन्जी शेर्पा र संखुवासभा मकालु–५ का लाक्पा वाङगेल शेर्पाको मृत्यू भएको हो ।
थामसेरकु ट्रेकिङ कम्पनी बाट मकालु हिमाल आरोहणका लागि ११ जना जर्मन टोली लिएर हिडेका प्रमुख आरोही शेर्पा गाइडको टेण्टको पुरै भाग थुनेकाले अक्सीजन अभावले मृत्यू भएको सेभेन समिट ट्रेकिङ एजेन्सीका आरोही गाइड मिङतेम्बा शेर्पाले बताए । मंगलबार राती गाइड शेर्पाद्धयले खाना खाएर सुतेका पछि बिहान मृत्यू अवस्थामा भेटिएको थियो । मृतकको शव  सेभेन समिट ट्रेकिङ एजेन्सीका आरोही गाइड शेर्पाको टोलीले रेस्क्यु गरी बुधबार मकालुको एबिसि हाइक्याम्पमा ल्याईएको छ ।
मृत्यू भएको खबर पाए पछि आरोही गाइड रेस्क्यु शेर्पा टोलीले शवलाई बोकेर झारेका थिए । शव बुधबारनै काठमाडौ ल्याउने तयारी गरे पनि मौषम खराबका कारण हेलिकप्टर अवतरण गर्न नसके पछि बिहिबार ल्याउने तयारी गरेको एजेन्सीले जनायो ।  मृतक गाइड लाक्पा वाङगेलले यस अघि चार पटक मकालु हिमाल आरोहण गरी सकेका थिए भने दातेन्जीको पहिलो पटक थियो