Mahendra_Highway_in_Itahariतरहरा/ इटहरी उपमहानगरपालिका तथा केही समयअघि नगरपालिका बनेका सुनसरीका केही शहर वर्षायाममा जलमग्न हुने गरेका छन् । नगरवासी भए पनि वर्षायाम शुरु भएसँगै सर्वसाधारणलाई घर डुबाउला भन्ने चिन्ताले सताउने गर्छ । सुनसरीका रामधुनी भासि, दुहबीभलुवा, इटहरी उपमहानगरपालिका र सुन्दरदुलारी नगरपालिकाका बासिन्दाहरु वर्षौंदेखि डुबानमा पर्दै आएका छन् । नगरहरुले ढल निकासमा ध्यान नदिँदा स्थानीय वर्षैपिच्छे डुबानको समस्या झेल्न बाध्य भइरहेका छन् ।
मोरङको सुन्दरदुलारी क्षेत्र वर्षौंदेखि डुबानमा परिरहेको छ । गाविसबाट नगरपालिकावासी भए पनि उनीहरुले डुबानबाट मुक्ति पाएका छैनन् । दुलारी क्षेत्र वर्षेनी डुबानमा पर्ने गरेको कारण सांसद् कोषबाट आउने ७ लाख र स्थानीयको सहयोगमा बाटो बनाउन लागिएको साजिलाल मार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष सत्यनारायण चौधरीले बताए । वर्षाको समयमा विद्यार्थीहरुलाई विद्यालयसम्म जान पनि समस्या हुने गरेको स्थानीय रामप्रसाद निरौलाले जनाए ।
सुन्दरदुलारी नगरपालिकाका कार्यकारी अधिकृत सुवर्ण घिमिरेले सुन्दरदुलारी क्षेत्रमा थोरै पानी पर्दा पनि डुबान हुने गरेको बताए । ढल निकासीका लागि ड्रेनको समस्याका कारण दुलारीका बाँसबारी क्षेत्र, गछिया पुलवारि, बेलगाछी ठडिया क्षेत्रलगायत लोकमार्ग पनि जलमग्न हुने गरेको उनी बताउँछन् । सयौँको सङ्ख्यामा सवारी साधन कुद्ने ठाउँमै पानी जम्ने गरेको उनको भनाइ थियो । ‘यसपटक हामीले होमपाइपबाट खोलामा पानी निकासी गर्ने तयारी गरिरहेका छौँ’, कार्यकारी अधिकृत घिमिरेले भने, ‘ठूलो पानी पर्दा होमपाइपले समेत भ्याउँदैन । यसका लागि शहरी विकास मन्त्रालयबाट ठूलो लगानीमा ड्रेनको व्यवस्था गर्नुको विकल्प छैन ।’ पानी कहाँ कुदाउने भन्ने विषयमा नयाँ नगरहरुमा गुरुयोजना नै बनाउनुपर्ने उनको माग छ ।
वर्षायाममा इटहरीमा वर्षेनी २ हजारभन्दा बढी घर डुबानमा पर्ने गरेको उपमहानगरपालिका बताउँछ । वर्षायाम शुरु हुनुअघि पर्ने सामान्य पानीले नै इटहरी क्षेत्र जलमग्न हुने गर्छ । अव्यवस्थित बसोबास, ढलको उचित निकास नहुनु, बाटोअनुसार प्राविधिक रुपमा परीक्षण नगरी घर निर्माण गर्ने क्रम बढेपछि सामान्य वर्षा हुनासाथ इटहरी पूर्ण रुपमा डुबानमा पर्ने गरेको छ । उपमहानगरका इन्जिनियर अर्जुन दाहालले भने इटहरी डुब्ने मुख्य समस्या ड्रेन नै भएको बताए । ढल निकासको समस्याका कारण इटहरी वर्षैपिच्छे डुबानमा पर्ने गरेको उनको भनाइ छ । ‘सम्भवतः अर्को वर्ष वल्र्ड बैङ्क र एडीबीसँग कुरा गरेर समस्या समाधान गर्ने तयारीमा छौँ ।’ इन्जिनियर दाहालले भने ।
ढलको उचित व्यवस्थापन नगरी जथाभावी घर बनाउन दिँदा यस्तो समस्या आउने गरेको सर्वसाधारण बताउँछन् । दुहबीभलुवा नगरपालिकाका सहायक लेखापाल परशुराम माझीले दुहबी पहिलेदेखि नै गहिरो ठाउँमा भएको कारण डुबानमा परिरहेको जनाए । वर्षा भएको बेला पानी घर–घरमा पस्ने गरेको उनको भनाइ छ । ‘भित्री बाटोहरु पूरै डुबानमा पर्ने गरेका छन् ।’ माझीले भने ।