nagarikataधरान/भारतको बिहारस्थित सुपौलका डिस्ट्रिक्ट मजिस्ट्रेट वैद्यनाथ यादवले गत साउन १० गते इस्लामिक अतिवादी सङ्गठन (आईएस) ले कोशी ब्यारेज भत्काइदिने चेतावनी दिएको भन्दै सुनसरी, मोरङ र सप्तरीका प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गरी सुरक्षा सावधानी अपनाउन आग्रह गरेका थिए । त्यसको झण्डै साढे चार महिनापछि सुनसरी प्रहरीले कीर्ते नेपाली नागरिकता भएका ६ जनालाई नियन्त्रणमा लिए पनि प्रहरीले भने मङ्गलबार दुईजनालाई मात्र सार्वजनिक गरेको छ ।

अन्य चारजनाबारे अनुसन्धान नसकिएकाले उनीहरुलाई सार्वजनिक नगरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी विनोद घिमिरेले जनाए । उनीहरु बङ्लादेशी नागरिकहरु भएको पुष्टि भएको छ । नक्कली नेपाली नागरिकता भएका उनीहरु नेपाली, हिन्दी र अङ्ग्रेजी भाषासमेत बोल्न जान्दैनन् । गिरोहका नाइके भने प्रहरीको घेरा नै तोडेर भागेको प्रहरीले बताएको छ । डीएसपी घिमिरेले आपूmहरु पुग्दा छजना मात्र फेला परेको जनाए पनि सुनसरीका प्रहरी प्रमुख एसपी पोषराज पोख्रेलले एकजना फरार रहेको पुष्टि गरेका छन् ।‘प्रहरीकै घेरा तोडेर अभियुक्त भाग्नु भनेको प्रहरीको अप्रेसनमाथि नै प्रश्न उठ्नु हो, त्यस कारण यो विषय सार्वजनिक नगरिएको हो ।’ स्रोतको भनाइ छ । प्रहरीले घटनाको गहिरो अनुसन्धान भइरहेको जनाएको छ ।

गिरोहका अन्य सदस्य भने फरार रहेको प्रहरी अनुसन्धानबाट खुलेको स्रोतको भनाइ छ । उनीहरुलाई पक्राउ गर्न प्रहरीले छुट्टै टोली परिचालन गरिसकेको छ । छजनालाई भने सुनसरी प्रहरीले कात्तिक १९ गते राति नै इनरुवाको एक होटलबाट नियन्त्रणमा लिएको थियो तर प्रहरीले चार दिनपछि मात्र मङ्गलबार पत्रकार सम्मेलन गरेर उनीहरुलाई पक्राउ गरी कीर्ते नागरिकतासम्बन्धी ऐनअनुसार मुद्दा दर्ता गरिएको जनाएको छ । पाँच दिन लामो अनुसन्धान गरिए पनि गिरोहका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गर्न सकेको छैन भने पक्राउ परेकाहरु कुन उद्देश्यले नेपाल आए भन्ने पनि खुलाएको छैन ।

प्रहरी स्रोतका अनुसार उनीहरु नेपालमा हतियार तथा लागूऔषध कारोबारमा संलग्न रहेको खुल्न आएको छ । तर जिल्ला प्रहरी कार्यालयका डीएसपी घिमिरेले यी विषय अनुसन्धानकै क्रममा रहेकाले अहिले केही भन्न नमिल्ने बताए ।उनीहरु मुस्लिम अतिवादी सङ्गठनहरू लस्करे तोइवा, मुजाहिद्दिन र जेएसए मोहम्मद समूहका सुराकी भएको समेत आशंका गरिएको छ । ‘अनुसन्धान सकिएपछि हामी जानकारी गराउछौँ ।’ डीएसपी घिमिरेले भने । गिरोहका सदस्यहरुले नेपाली नागरिकता र राहदानी बनाएर विभिन्न व्यक्तिलाई खाडी मुलुक पठाउने गरेको समेत अनुसन्धानका क्रममा खुलेको एसपी पोख्रेलले बताए ।

प्रहरीले मङ्गलबार बङ्लादेशको ट्याङ्ग्याल स्थायी ठेगाना भएका हयात मियाँ भन्ने आसान मियाँलाई र बङ्लादेशकै पावना जिल्ला स्थायी ठेगाना भएका समशेर भन्ने सिजारोल मल्लिकलाई सार्वजनिक गरेको छ । मियाँले पश्चिम कुशहा–९ का इनुस भन्ने व्यक्तिलाई बुबा बनाई वंशजको आधारमा ३०४५÷२५६६ नम्बरकोे नक्कलीे नागरिकता लिएका छन् भने मल्लिकले पश्चिम कुशहा–४ का सुलेमान मियाँलाई बुबा बनाई वंशजको आधारमा ३०४५÷२८८४ नम्बरको नेपाली नागरिकता लिएको देखिन्छ । उनीहरु मुस्लिम अतिवादी सङ्गठनहरू लस्करे तोइवा, मुजाहिद्दिन र जेएसए मोहम्मद समूहका सुराकी भएको विषयमा एसपी पोख्रेलले भने, ‘यो विषय सत्य नहुन पनि सक्छ ।’