धनुषामा गहुँकाे बीउ अभाव
- कार्तिक २६, २०७३
- ब्लाष्ट खबर
जनकपुरधाम/यस वर्ष धनुषामा गहुँको बीउ अभाव हुने भएको छ ।
जिल्ला कृषि विकास कार्यालयका प्रमुख प्रदीप ठाकुरले अनुदानको बीउ न्यून परिमाणमा आएकाले अभाव हुन सक्ने बताए । जिल्लामा ४० हजार हेक्टर क्षेत्रफलमा गहुँको खेती हुन्छ । प्रतिकृषक करिब ४० किलो अनुदानको बीउ उपलब्ध गराउने गरेको उनले बताए ।
जिल्लामा विभिन्न कृषि कार्यक्रम सञ्चालनका लागि आव २०७३/७४ का लागि रु छ करोड तीन लाख ८० हजार बजेट विनियोजन गरिएको छ । सोअन्तर्गत कृषि प्रसार कार्यक्रमका लागि रु चार करोड ३० लाख ५६ हजार, सहकारी खेतीका लागि रु ३९ लाख ५४ हजार, समुदाय व्यवस्थित सिञ्चित कृषि क्षेत्र आयोजनाका लागि रु १६ लाख र बाली विकास कार्यक्रमका लागि रु २२ लाख ५३ हजार विनियोजन गरिएको छ ।
यस्तै राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका लागि रु ५१ लाख ९० हजार, विशेष कृषि कार्यक्रमका लागि रु २५ लाख र घर बगैँचा कार्यक्रमका लागि रु १२ लाख ३१ हजार रकम विनियोजन गरिएको छ । कृषि प्रसार कार्यक्रमअन्तर्गत कृषकलाई धानको बीउ चार मेट्रिक टन, गहुँ १० मेट्रिक टन, मकै एक मेट्रिक टन र मसुरको बीउ १ दशमलव ५ मेट्रिक टन ५० प्रतिशत अनुदान वितरण गरिने कार्यालयले जनाएको छ । रासस