Gunरौतहट / प्रहरी चेकिङ टोलीमाथि एक्कासी फायरिङ भएपछि प्रहरीले जवाफी फायर गर्दा कोरैया लौखान ढाका पूर्वी चम्पारन बिहार भारत बस्ने ४४ बर्षीय तेजीलाल साहको मृत्यु भएको छ । प्रहरीका अनुसार देवाही–८ स्थित लालबकैया खोलाको बाध हुदै अज्ञात समूहले हातहतियार लिएर आउदै छ भन्ने बिशेष सूचनाको आधारमा मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौडा र जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटीएको संयुक्त प्रहरी टोली सोमबार विहान उक्त स्थानमा खटी गई चेकजाँच गर्ने क्रममा प्रहरी चेकिङ टोली माथी एक्कासी फायरिङ गर्दा प्रहरी जवान सुरेन्द्र चौधरी घाइते भएका थिए । प्रहरीमाथि फयरिङ भएपछि जवाफी फायर गर्दा घाइते भएका साह र प्रहरी जवान सुरेन्द्र चौधरीलाई उपचारको लागि जिल्ला सरकारी अस्पताल गौर ल्याउदै गर्दा डाक्टरले साहलाई मृत घोषणा गरेका थिए । हात र खुट्टामा चोट लागेका प्रहरी जवान चौधरीलाई प्राथमिक उपचार पश्चात थप उपचारको लागि चुरेहिल अस्पताल हेटौडामा लगिएको छ । घटनास्थलबाट प्रहरीले बट नभएको ईन्सास राईफल १ थान, सोको १५ राउण्ड गोली, कटुवा पेस्तोल १ थान, सानो चाईनिज पेस्तोलजस्तो देखिने ईटालियन पेस्तोल १ थान बरामद गरेको छ । फरार अन्य व्यक्तिहरुको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।