पाँचथर / युवती हत्याको आरोप लागेका एक ब्यक्ति १२ वर्ष पछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथर फलैंचा–७, का मोहन भनिने विकास राई रहेको प्रहरीले जनाएको छ । निजमाथि सोही ठाउँ बस्ने २० वर्षिया मनिषा बेघाको हत्या गरेको आरोप छ । मनिषाको शव २०६१ साल भदौ १८ गते टाउकोमा चोट लागेको अवस्थामा फलैंचा–७ को सिंहदेवी जङ्गलमा भेटिएको थियो । प्रहरीका अनुसार २०६१ साल भदौ ८ गते मनिषा र विकास बीचको प्रेम सम्बन्धको बारेमा समाज बसेको थियो । जसमा विकासले मनिषालाई विवाह गर्न ३ दिनको समय माँगेका थिए ।
त्यसको ३ दिन पछि अर्थात् भदौ ११ गते बिहान ४ बजे मनिषाका दाजु जीवनले विकास र बहिनिलाई घरमुनिको बाटोमा हिंडिरहेको देखेका थिए । त्यसै दिनदेखि बेपक्ता मनिषाको शव एक हप्तापछि भेटिएको थियो भने विकास फरार रहेका थिए । पक्राउ परेका विकासलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखि जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धानको प्रक्रिया अघि बढाइएको डिएसपी नकुल पोख्रेलले जानकारी दिए ।