बाबियाचौर (म्याग्दी)/दरबाङ–३ दुखुबेंसीमा अवस्थित ‘भाले बास्ने’ ताल प्रचारप्रसार र पूर्वाधारको कमीले ओझेलमा परेको छ । vale basne taal परापूर्वकालमा सो ताल नजिकै रहेको झरनाबाट बिहान सबेरै भाले कराएको आवाज आउने र त्यहाँ पूजाआजा तथा दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । तालसम्म पुग्ने पदमार्ग निर्माण गरिए पनि अन्य पूर्वाधार र प्रचारप्रसार हुन नसक्दा अपेक्षाकृत भक्तजन तथा पर्यटक आगमन हुन नसकेको मितेरी युवा क्लब दुखुबेंसीका अध्यक्ष श्रीप्रसाद रोकाले बताए । सो स्थानलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न प्रचारप्रसारको आवश्यकता रहेको उनको भनाइ छ । पहाडबाट झर्ने आकर्षक झरनाको फेदीमा करिब २० वमि क्षेत्रफलमा फैलिएको तालसम्म पुग्न स्थानीय बासिन्दाको पहलमा दुई वर्षअघि तीन किमी पदमार्ग बनेको थियो । यसैगरी बाबियाचौरको सहस्रधारादेखि दुखुबेसी हुँदै तोलाबाङसम्म पुग्ने सडक समेत निर्माण भएको छ । बेनी–दरवाङ सडकको सहस्रधारा खण्डदेखि करिब एक घन्टा पैदल हिँडेपछि तालमा पुग्न सकिन्छ । यसैबीच भाले बास्ने ताल र मालिका लगायत दुखु गाउँको धार्मिक पर्यटकीयस्थलको प्रचारप्रसारका लागि न्यु मालिका युवा क्लबले वृत्तचित्र र गीतको म्युजिक भिडियो तयार गरेको छ । चार लाखको लगानीमा निर्मित वृत्तचित्र र म्युजिक भिडियोमा मालिका, भाले बास्ने ताल र दुखु गाउँको दृश्य समावेश गरिएको क्लबका तेजेन्द्र पुनले बताए । रासस