विजयपुर/धरानस्थित विद्युत् प्राधिकरणले बिजुलीबाट उच्च जोखिममा रहेका धरानको २०, २१, २२ र २३ नम्बर वडा (साबिक पानबारी गाविस) मा रिह्याब प्रोजेक्ट अन्तर्गतको लाइन तथा भोल्टेज सुधार कार्यक्रम सञ्चालन गर्ने भएको छ । यो प्रोजेक्टका लागि डेड करोड रुपैयाँ प्राप्त भएको प्राधिकरण धरानका शाखा प्रमुख खिलनाथ अर्यालले जानकारी दिए ।
धरानका २०, २१, २२ र २३ नम्बर वडामा बिजुलीका कारण तीनजनाको मृत्यु भइसकेको छ । ब्लाष्ट दैनिकले गत वर्ष नै धरान विद्युतीय जोखिममा रहेको समाचार प्राथमिकताका साथ छापेको थियो । समाचार प्रकाशन भएपछि धरानको पानबारीबासीको पहलमा विद्युत् लाइन सुदृढीकरण तथा भोल्टेज सुधार कार्यक्रममा बजेट प्राप्त भएको हो । प्राधिकरणका धरान शाखा प्रमुख अर्यालका अनुसार अहिले धरानका चारवटा वडा (साबिक पानबारी) मा सञ्चालन भइरहेको प्रोजेक्ट सिङ्गो धरानलाई आवश्यकता छ । पानबारी क्षेत्रको प्रोजेक्टको लागि केही दिनभित्रमै टेण्डर आह्वान हुने उनले बताए ।अर्यालका अनुसार यो प्रोजेक्ट अनुसार पानबारी क्षेत्रमा काठका पोलहरु हटाएर आवश्यकता अनुसार सिमेन्ट र स्टिलका झण्डै पाँच सयवटा पोल परिवर्तन तथा थप हुनेछन् । पुरानो ट्रान्सफरमरलाई अपग्रेट गर्न र नयाँ थप गर्न सातवटा टान्सफर्मर त्यस क्षेत्रमा राखिने छ ।
अर्यालले यो प्रोजेक्ट सकिएपछि पानबारी क्षेत्रमा विद्युत् सम्बन्धी कुनैपनि समस्या कम हुने बताए । ‘अहिले प्रयोग गरिएका कन्डक्टर (तार) हरु परिवर्तन गरेर पाँचवटा स्टेन्थ वायर भएको तारहरु प्रयोग गरिने छ, जसले विद्युत् बहनको क्षमतालाई सहजै बोक्न सक्छ’, अर्यालले भने । नयाँ प्रोजेक्ट अन्तर्गत कतिपय ठाउँमा एसीसी केबलको प्रयोग हुनेछ ।‘एबिसी केबल प्रयोग गरेपछि कसैले पनि विद्युत् चोरी गर्न सक्दैन’, अर्यालले भने, ‘जङ्गल एरियामा पनि हामी एबिसी केबल प्रयोग गछौं, जसले हावाहुरी चलेको बेला तारहरु जलेर हुने समस्या आउँदैन ।’ पानबारी एरियामा ११ हजार भोल्टेजको तार कुदाउने गरी कार्य भइरहेको शाखा प्रमुख अर्यालले बताए । यो प्रोजेक्ट सम्पन भएपछि पानबारीका धेरै ग्राहकले विद्युत् सेवामा राहत पाउने उनको भनाइ छ ।
अहिले बिजुलीको पोलबाट ३ सय टरसम्म कालो तार तानेर बिजुली बाल्नु पर्ने बाध्यात्मक अवस्था छ । यो प्रोजेक्ट सम्पन्न भएपछि सबै ग्राहकले बढीमा ५० मिटर कालोतार प्रयोग गरेर विद्युत् सेवा लिन सक्छन् । पानबारी एरियाममा मात्र २० देखि २२ किलोमिटर पाँचवटा स्टेन्थ वायर भएको तार कुदाइने अर्यालले बताए ।अहिले पानबारी क्षेत्रमा मात्र प्राधिकरणका झण्डै चार हजार ग्राहक छन् । ब्लाष्ट दैनिकमा समाचार प्रकाशन भएपछि पानबारीका स्थानीय अगुवा विश्वराज कार्की र मातृकाप्रसाद भट्टराईले मन्त्रालय र प्राधिकरणमा विद्युत् सुधारका लागि पहल गरेका थिए ।