काठमाडौं/ प्रधानमन्त्री पदबाट राजीनामा दिएर प्रचण्डले शेरबहादुर देउवालाई सत्ता सुम्पिने हो भने मधेसी मोर्चा स्थानीय तहको चुनावमा आउने मधेसी मोर्चाका एक नेताले दाबी गरेका छन् ।

त्यसरी देउवाको नेतृत्वमा बन्ने सरकारमा माओवादी केन्द्र, राप्रपा र फोरम लोकतान्त्रिक दगायतका दलहरु सहभागी हुने र त्यो सरकारमा दुई तिहाइ पुग्ने मोर्चाका ती नेताको दाबी छ ।

मधेसी मोर्चामा आवद्ध गणतान्त्रिक फोरममा अध्यक्ष राजकिशोर यादवले  भने– ‘प्रचण्डजीले काम गर्न सक्नुभएन, त्यसैले अब मोर्चालाई पनि स्थानीय चुनावमा आउने बाटो खोल्ने हो भने उनले तत्काल राजीनामा दिएर शेरबहादुरजीलाई सत्ता सुम्पनोस्, त्यो सरकारमा माओवादी, कमल थापा र विजय गच्छदारजीलाई पनि ल्याऔं र संविधान संशोधन गरेर चुनावमा जाऔं ।’

केपी ओली नेतृत्वको सरकार ढालेर आफूले सत्ता सम्हाल्नेवित्तिकै प्रचण्डले कमल थापा र विजय गच्छदारलाई समेट्न सकेको भए अहिलेको जस्तो परिस्थिति नआउने यादवले बताए । उनले भने–तर, प्रचण्डले कमल थापासँग छलफल नै गरेनन् । अब उनकै नेतृत्वमा कमल थापा र गच्छदार सरकारमा आउने स्थिति नभएकाले शेरबहादुरको नेतृत्वमा सरकार बनाई संविधान संशोधन गरेर स्थानीय चुनावमा जानुको विकल्प छैन ।’

प्रचण्डले छाडेपछि बन्ने सरकारमा नेकपा एमाले पनि सामेल भयो भने त्यो राम्रो हुने र सर्वदलीय सरकार बनेको अवस्थामा झनै राम्रो हुने यादवले बताए । तर, एमाले सरकारमा आएन भने पनि थापा र गच्छदारसहितको सरकार गठनपछि संविधान संशोधनमा दुई तिहाइ पुग्ने उनको तर्क छ ।

‘त्यसरी संविधामन संशोधन गर्ने हो भने हामी मोर्चालाई पनि चुनावमा आउने वातावरण बन्छ,’ यादवले भने– अन्यथा, यही अवस्थामा संविधान संशोधन नहुँदासम्म मधेसी मोर्चा आन्दोलनमा जानुको कुनै विकल्प छैन ।’

मोर्चाका नेता यादवले प्रचण्डको राजीनामा र देउवाको नेतृत्वमा सरकार गठनको माग गरे पनि मधेसी मोर्चाले यसलाई आफ्नो औपचारिक एजेण्डा बनाइसकेको छैन । तर, यसबारे मोर्चाभित्र आफूले छलफल चलाइरहेको यादवले बताए ।

उनले भने– ‘प्रचण्डजीको नियतमाथि नै हामीलाई शंका लाग्न थालिसक्यो, उनी कतै संविधान नै संशोधन नगराउने पक्षमा त हुनुहुन्न ? त्यसैले चाँडो सरकार छाडिदिनोस् र दुई तिहाई बहुमत पुग्ने गरी नयाँ सरकार गठन गरौं र चाँडै संविधान संशोधन गरेर चुनावमा जाने वातावरण बनाऔं ।’