धरान । धरान उपमहानगरपालिका सुन्दर र सफा शहर भनेर देश विदेशमा चिनिएको छ । तर बाहिर जसरी चिनिएको छ । जुन उपमा पाएको छ, त्यो क्रमशः हराउदै गएको छ । हुन जनसहभागिताको शहर भनेर चिनिन्छ । शहरका भित्री सडक प्रायः चिल्ला र सफा पनि छन् ।
 
अन्य शहरको तुलनामा सुन्दर छ । तर विडम्बना धरानको मुटु भानुचोक जो अहिले बस पार्क संचालनमा छ, त्यहाँका अस्तव्यस्तताले धरान बाहिरबाट सोचे भन्दा फरक बनाइदिएको छ । भानुचोकमा भएको साँगुरो बस पार्क, अत्याधिक सवारीको चापले गर्दा धरानको सौन्दर्यमा खोट लागेको छ । शहरको भीडबाट अन्यत्र बस पार्क सार्ने तयारी उपमहानगरले गरेको झण्डै दशक पुगेको छ । राजनीतिक खिचातानी र व्यक्तिगत स्वार्थका कारण बस पार्क अहिलेसम्म नसार्दा भानुचोक कुरुप बनेको छ ।
 
यहाँको अस्तव्यस्ता देखेर चोकैमा रहेका भानुभक्तसमेत छक्क पर्ने गरेका छन् । रामायण बोकेर चोकमा धुलो धुवाँ खाएको उनले बषौं भयो । नेताहरुले सार्ने हल्ला चलाए पनि बस पार्क सार्न अझै सकेका छैनन् । करिब १० कट्टा जग्गामा टेम्पो, ट्याक्सी, सिटी सफारी, पूर्व पश्चिम तथा कोशी पहाडी क्षेत्र चल्ने यात्रुवाहक बसको विसौनी यही रहेको छ । साँघुरो सडकको चौडा अर्थात ५० बर्ष अगाडिको सवारी चापलाई थेग्ने गरी बनाइएको बसपार्क हालसम्म उही छ । बसपार्क साँगुरो भएकै कारण सवारी साधन जाम हुने, सडकमा हिड्ने बटुवालाई बाटो काट्न समस्यादेखि लिएर दुर्घटनाको जोखिमसमेत बढ्दै गएको स्थानीय बताउछन् ।
 
 
धरान ८ की तारा शाक्यले बढ्दो सवारीको चापका कारण अस्तव्यस्त बनेको बसपार्ककै कारण सर्वसाधारण यात्रु, बाटोमा हिड्ने बटुवाले हैरानी व्यहोर्नु परेको बताइन् । एकातिर सडकको बीचमा बसपार्क, त्यसमाथि पनि साघुरो बसपार्कका कारण यस ठाउमा ठूला ठूला दुर्घटना समेत हुने गरेको छ । सवारी चापकै कारण विगतमा यस स्थानमा ठूला ठूला दुर्घटना हुदा सवारी साधनसहित भौतिक सरचना समेत भत्किएका थिए । धरान १२ छाताचौकबाट धरानको बसपार्कतर्फ आउने क्रममा दुई वटा मालवाहक ट्रक ब्रेक फलका कारण दुर्घटना भए ।
 
त्यसबेला पार्किङ्गमा राखिएका ५/७ वटा मोटरसाइल पूर्ण क्षति भएको थियो भने भानुचौकमा रहेको एक घरमा पूर्ण क्षति पुगेको थियो । यी त उदाहरण मात्र हुन साना तिना दुर्घटना यहाँ भइ नै रहन्छन् । साघुरो बसपार्क त्यसमाथि पनि यातायात मजदुरहरुले यात्रु तानातान गर्दा समेत दुर्घटनाको जोखिम बढ्ने गरेको स्वयम् यातायात मजदुरहरु नै स्वीकार्छन । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन एक नंं प्रदेश सचिवा लक्ष्मी बाँनियाले साघुरो बसपार्कका कारण सबैलाई समस्या भएको बताउछन् ।
 
अस्तव्यस्त बसपार्ककै कारण दिनप्रतिदिन दुर्घटनाको जोखिम बढेको उनी बताउछन् । अत्याधिक सवारी चापका कारण ट्राफिक प्रहरीलाई ट्राफिक व्यवस्थापनमा चुनौति त्यतिकै थपिएको छ । सडकको एक छेउमा यत्रतत्र राखिएका दुई पांग्रे मोटरसाइकलको पार्किङ,सागुरो सडक छ भने अर्कातर्फ बसपार्क अस्तव्यस्त बन्दा ट्राफिक व्यवस्थपनमै समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका प्रमुख बाबुकाजी गिरीले बताए । साँगुरो स्थान, अस्तव्यस्त बसपार्कका कारण ट्राफिक व्यवस्थापनमा चुनौति थपिएको उनको भनाई छ ।
 
बसपार्क साँगुरो भएकै कारण सवारी साधन घण्टौ जाममा पर्ने गरेको उनको भनाई छ । बसपार्कको विषयमा समयमै नसोच्न हो भने धरानमा दुर्घटना जोखिम बढ्ने र बसपार्ककै कारण ठूला क्षति व्यहोर्नुपर्ने अवस्था आउने ट्राफिक प्रहरीको बुझाई छ । धरानको अस्तव्यस्त बसपार्क धरान ८ सुन्दरबस्तीमा सार्ने योजना १७ बर्ष अगाडि नै ल्याएका भए पनि हालसम्म सर्न सकेको छैन । बसपार्क सार्ने योजनालाई बेलैमा कार्यान्वयन नगरे भोलि झन भयावह अवस्था नआउला भन्न सकिन्न ।
 
यद्यपी स्थानीय तहमा जनप्रतिनीधि आए पछि सुन्दरबस्तीमा सार्न तयारी गरिएको छ । यही माघ २७ गते धरान उपमहानगरपालिकाले बसपार्क निर्माणको शिलान्यास गर्ने कार्यक्रम तय गरेको छ । बसपार्क निर्माण भए पछि भने भानुचोक शान्त बन्ला र यहाँ रहेका भानु पनि खुशी बन्लान ।