विराटनगर/ विराटनगर- ८ बलुवाही स्थित सिंघीया खोला किनारमा बलात्कार पछि हत्या गरिएको आशंकमा प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएको मध्धे तीन जनाको पोलिग्राफ जाँच गरिएको छ ।
अनुसन्धानको क्रममा प्रक्राउ परेका व्यक्तिको कुरा बाझिएको र केहीले झुट बोलेपछि तीन जनाको पोलिग्राफ जाँच गरिएको हो । पक्राउ परेको तीन जनाको पोलिग्राफर १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा लगेर जाँच गरिएको अनुसन्धानमा संलग्न एक अधिकारीले बताए ।
पोलिग्राफ जाँच गर्दा झुट बोलेको न बोलेको थाहा हुने गर्दछ । रुपमतिको शव भेटिएको साझ प्रहरीले संकास्पद व्यक्तिलाई सोधपुछको लागि नियन्त्रणमा लिएको थियो । ‘नियन्त्रणमा लिएको मध्धे तीन जनालाई छुट्टा-छुट्टै राखि अनुसन्धान गर्दा कुरा बाझियो,’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने, ‘झुट बोलेको देखिएकोले पोलिग्राफ जाँच गरिएको छ ।’ मोरङ प्रहरीले पक्राउ गरेको व्यक्तिको नाम र पोलिग्राफ जाँच गरिएको व्यक्तिको नाम भने गोप्य राखेको छ ।
मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले सुक्ष्म तरिकाले चौतर्फी रुपमा अनुसन्धान गर्दै आएको बताए । उनले अनुसन्धानको क्रममा आवश्यक परेको बेला पोलिग्राफ जाँच गर्नु कुनै ठूलो विषय नभएको बताए । ‘शंकास्पद रुपमा बालिकाको शव फेला परेको छ,’ एसपी केसीले भने, ‘यस घटनामा हामीले थुप्रैसँग सोधपुछ गरेका छौं । त्यही अनुसार गहन रुपमा विभिन्न कोणबाट अनुसन्धान गरेका छौ ।’
प्रहरीले उक्त घटनामा स्थानिय भुट्टु भनिने अब्बास मियां, चन्दु ऋषिदेव, सहित ९ जना लाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दै आएका छन् । उनीहरू मध्धे अब्बास, चन्दुको पोलिग्राफ जाँच गरिएको स्रोतको दाबी छ ।
प्रहरी नियन्त्रणमा रहेका मध्ये नै बालिकाको हत्यामा संलग्न रहेको निष्कर्षमा प्रहरी पुगिसकेको छ । प्रहरी प्रमाणको खोजीमा जुटेका छन् । नाङ्गो अबस्थामा शव बरामद भएको रुपमतिले लगाएको कपडाको खोजीमा प्रहरी जुटेको छ ।
प्रहरीले शव बरामद भएदेखि ५ सय मिटर दक्षिणबाट रुपमतिले लगाएको ऊनको हरियो रंगको टोपी बरामद गरेको छ । रुपमतिले लगाएको टोपी बरामद भएको र थप प्रमाणको खोजीमा लागेको प्रहरीले जनाएको छ ।
अनुसन्धानको क्रममा रहेकाले यस घटनाको बारेमा थप बोल्न नमिल्ने प्रहरीले बताए । यस घटनमा मोरङ प्रहरी र १ नम्बर प्रदेश प्रहरी विराटनगरको संयुक्त टोलीले अनुसन्धानमा गर्दै आएको छ ।
स्थानियबासीले भने रुपमतिको बलात्कार पछि हत्या भएको आशंका गरेका छन् । ११ वर्षिय बालिका रुपमती दासको शव आइतबार दिउसो घरभन्दा ५ सय मिटर दक्षिणपूर्व सिंघीया खोलामा निर्वस्त्र अवस्थामा भेटिएको थियो ।
बालिका दास शनिवार सांझ छिमेकीको घरमा टिभी हेर्न जान्छु भनेर निस्किएपछि बेपत्ता भएकी थिइन् । शवको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरिएको हुनसक्ने स्थानियले आशंका गरेका हुन् ।