रङ्गेली/ किसानहरूलाई बाख्राालनतर्फ आकर्षित गर्ने उद्देश्यले नेपाल बाख्रापालक व्यवसायी महासङ्घले विराटनगरमा प्रदेश–१ भरिका बाख्रापालक किसान, व्यवसायीसँग छलफल गरेको छ ।
महासङ्घले बाख्रापालनमा व्यवसायीकरण तथा मासुमा आत्मनिर्भरताको लागि किसानसँग दुई दिने छलफल आयोजना गरेको हो । छलफल विराटनगरमा १८ र १९ गते दुई दिन चल्नेछ । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले कार्यक्रमको उद्घाटन गरे ।
कार्यक्रममा बोल्दै बाख्रापालक व्यवसायी महासङ्घका अध्यक्ष श्यामकुमार पोखरेलले देशलाई बाख्रा र मासुमा आत्मनिर्भर कसरी बनाउन सकिन्छ भनेर सातै प्रदेशमा छलफल चलाउँदै हिँडेको उनले बताए । उनले अन्तक्र्रियाको शुरुवात प्रदेश–१ बाट गरेको बताए ।
बाख्रा गरिबको दुहुनो गाई भएको उनले बताए । निम्न वर्गकाले पनि १–२ वटा बाख्रा पाल्न सक्ने भएकाले आयस्रोतको राम्रो माध्यम हुन सक्ने बताए ।
कार्यक्रममा बोल्दै कृषि विकास बैङ्क पूर्वाञ्चल क्षेत्रीय कार्यलय विराटनगरका प्रमुख मित्रबहादुर विष्टले मेची कोशीमा बैङ्कका ३३ शाखाबाट २२ वटा पशुपालन व्यवसायका प्रोजेक्टमा १ करोड बढी लगानी भइसकेको बताए । उनले बाख्रापालक किसान अरू किसानको जस्तो अन’दान माग्न उत्साहित नभएको जिकिर गरे ।
कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बाख्रापालक किसानका समस्या सरकारले सम्बोधन गर्नुपर्ने बताए । उनले व्यवसायिक बाख्रापालकलाई सरकारले सहयोग गर्न पर्ने धारणा राखे ।
कृषि विकास बैङ्कले पशुपालनका लागि ५५ करोड रुपैयाँ अनुदान रकम निकासा भइसकेको छ । कृषि विकास बैङ्कले देशभरमा पशुजन्य व्यवसायका लागि प्रत्येक वर्ष १३ अर्ब लगानी गर्दै आएको छ ।