रङ्गेली/ बैङ्कको चर्को ब्याजदरको विरोध गरिरहेका मोरङका उद्योगी व्यापारीहरूले आगामी दिनको रणनीति बनाउन सम्बधीत पक्षसँग छलफल गरेका छन् । एक साता अघिबाट विभिन्न कार्यक्रम गर्दै बैङ्कको चर्को ब्याजदरको विरोध गर्दै आएका उनीहरूले बुधबार विराटनगरमा बृहत छलफलको अयोजना गरेका थिए ।
विरोधको नेतृत्व उद्योग सङ्गठन मोरङ र मोरङ व्यापार सङ्घले गरिरहेको छ । छलफलमा मोरङ व्यापार सङ्घका अध्यक्ष पवन सारडाले रोजगारदाताहरू नै अहिले बैङ्कको चर्को ब्याजका कारणले त्रसित अवस्थामा रहेको बताए ।
राष्ट्र बैङ्कको संरक्षण पाएका बैङ्कहरूले दलाली गरिरहेको आरोप लागाए । डुबेको उद्योगलाई तत्काल कालोसूचीमा राख्ने बैङ्कहरू राष्ट्र बैङ्कको संरक्षणमा रहेको उनले बताए । दिनदिनै बैङ्कहरू नाफामा गइरहेको अहिलेको अवस्थामा ६० प्रतिशत उद्योगहरू घाटामा गइरहेको बताए । ‘श्रम, सरकार, बैङ्क सबै तिरबाट उद्योगी मारमा परेपछि आन्दोलन गर्न बाध्य भएका छौँ ।’ उनले भने ‘हाम्रो आन्दोलन राष्ट्र बैङ्कको गुण्डागर्दीविरुद्ध हो ।’
छलफलमा उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरेले आन्दोल बैङ्कको विरुद्धमा नभएर ब्याजदर बृद्धिको नीति विरुद्ध भएको उनले बताए । एउटा हाइड्रो पावरले ५ रुपैयाँमा बिजुली बेच्ने र दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी ६ प्रतिशतमा लिएको ऋणको ब्याज १७ प्रतिशत पुर्याइन्छ भने उसले कसरी ५ रुपैयाँमा बिजुली बेच्न सक्छ भन्दै उदाहरण प्रस्तुत गरे ।
उनले भने, ‘२० वर्षदेखि चलेको उद्योगले ५–७ हजारलाई रोजागारी दिए पनि घाटामा छन् तर एक वर्ष पनि नपुगेको बैङ्क भने नाफामा पुग्छन् ।’ अध्यक्ष घिमिरेले बैङ्क र बिमा कम्पनीले गरेको दादागिरी सरकारले रोक्नु पर्ने बताए । उनले अधिकार सम्पन्न र आधिकारिक रूपमा आएमात्र वार्ता गरिने बताए ।
उद्योगी तथा सांसद मोती दुगड्ले बैङ्कहरूले उद्योगी व्यवसायीलाई हेयको नजरले हेर्ने गरेको बताए । उनले बैङ्कहरूले व्यवसायीलाई आफ्नो पार्टनरको रूपमा नमान्ने उनले बताए । उनले बैङ्कहरूले ऋणका लागि प्रक्रिया शुरु गर्दा देखि नै बैङ्कहरूले रकम असुल्न शुरु गर्ने गरेको आरोप लागाए ।
संसारका कुनै पनि मुलुकमा नभएको नियम नेपालका बैङ्कहरूले लगाइरहेको उनले बताए । उनले आन्दोलनमा ऐक्यबद्धता समेत जनाए ।
कार्यक्रममा उद्योग सङ्गठन मोरङका वरिष्ठ उपाध्यक्ष सुयस प्याकुरेलले स्वदेशी लगानीको प्रवद्र्धन नभएसम्म विदेशी लगानी नभित्रने बताए । उद्योगी शिवशङ्कर अग्रवालले अहिलेको ब्याजदरमा नियन्त्रण नहुने हो भने व्यापार घाटा झनै बढेर जाने बताए ।
उद्योग सङ्गठन मोरङ र मोरङ व्यापार सङ्घको नेतृत्वमा माघ २० गतेबाट विराटनगरस्थित राष्ट्र बैङ्कको कार्यालयमा धर्ना दिने भएका छन् । उनीहरूले २३ गतेसम्म बैङ्क अगाडि धर्ना दिने र त्यसपछि पनि सुनवाइ नभए सरकारलाई सबै उद्योगीले उद्योगको साँचो बुझाउने बताएका छन् ।