काठमाडौ/ मुलुकका विभिन्न क्षेत्रमा रहेका टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलको टावरमा भएको बम विष्फोट र आगजनीको घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले १६ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ ।
काठमाडौँ उपत्यकाबाट पक्राउ परेका ६ र बाहिरी जिल्लाबाट पक्राउ परेका १० गरी १६ जनामाथि अनुसन्धान चलिरहेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए । ‘कसले विष्फोट गरायो भन्ने विषय र पक्राउ परेकाको विषयमा अनुसन्धान चलिरहेको छ, अनुसन्धानपछि मात्रै यकिन हुन्छ, अहिले नै यसै भन्न सकिन्नश’ –प्रवक्ता सुवेदीले भने ।
अज्ञात समूहले ललितपुरको नख्खुलगायत देशका विभिन्न क्षेत्रमा रहेको एनसेलका टावरमा शुक्रबार बम विष्फोट गराएर क्षति पु¥याएको थियो । ललितपुरको नख्खुस्थित टावरमा भएको विष्फोटमा परी सिंहप्रसाद गुरुङको मृत्यु भएको छ भने प्रतीक्षा खड्का र आयुषा मानन्धर घाइते भएका छन् ।
उनले ललितपुरको नख्खुबाहेक अन्य जिल्लामा भने आगजनी मात्रै भएको जानकारी दिए । उपत्यका बाहिर कञ्चनपुर, जाजरकोट, अछाम, पूर्वी रुकुम, कपिलवस्तु, रुपन्देही, काभ्रेलगायत जिल्लाको एनसेल टावरमा आगजनी गरिएको छ । काठमाडौं कमलपोखरीमा फेला परेको बमलाई भने डिस्पोज गरिएको थियो ।
गृहमन्त्री रामबहादुर थापाले शनिबार उपचाररत घाइतेसँग भेट गरी उपचारको सम्पूर्ण जिम्मेवारी सरकारले लिने जानकारी दिँदै दोषीलाई पक्राउ गरी कारबाही गर्ने आश्वासन दिएका छन् ।
घटनापछि सुरक्षा व्यवस्थामा समेत थप कडाइ गरिएको प्रहरीले जनाएको छ । जाँचलाई साविकभन्दा बढाएको, सादा पोसाकमा समेत प्रहरी परिचालन गरी मोबाइल गस्ती बढाएको र मुलुकभरका प्रहरी कार्यालयलाई सुरक्षा व्यवस्था थप मजबुत पार्न निर्देशन दिइसकिएको प्रवक्ता सुवेदीले जानकारी दिए ।
यस्तै शङ्कास्पद गतिविधिलाई समेत प्रहरीले निगरानी थालेको छ । विभिन्न जिल्लामा रहेका संवेदनशील क्षेत्रमा समेत सुरक्षा सतर्कता बढाएको प्रहरीले जानकारी दिएको छ ।