ताप्लेजुङ/ ताप्लेजुङको लेकाली क्षेत्रका फाँटहरु याक तथा चौँरीको गोठहरु छन् । मिक्वाखोला गाउँपालिकाको तोक्पेगोला, तीनपोखरी, लोदेन, सिङसोङदेन, साधुटारजस्ता लेकाली फाँट याक र चौंरीका गोठहरु हुन् । तराईका समथर भूभागजस्ता देखिने खर्क ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङमा पर्छन् ।

सिजन अनुसार सो क्षेत्रका स्थानियले चौँरी र याकको गोठलाई सार्छन् । तीनजुरे, मिल्के, जलजले (टीएमजे)बाट पापुङको लोदेन खर्कसम्म चौंरी र याकका गोठ रहेको तोक्पेगोलाका मिलन दोर्जी शेर्पाले बताए । शेर्पा र तोक्पेगोला (स्थानीय भाषामा ढोक्प्या) समुदाय याक पालनमा संलग्न छन् । ‘पशुपालन हाम्रो परम्परागत पेसा हो तर हामी युवाले यसलाई व्यवसायका रूपमा अघि बढाउँदै छौं’, तीनपोखरी गोठमा भेटिएका दोर्जीले भने, ‘टीएमजेबाट यहाँसम्म १ हजार याक पालिएका छन् ।’ चौंरी भने ७ सयजति रहेको उनले सुनाए ।

लेकाली क्षेत्रमा पशुपालन व्यवसाय फस्टाउँदै छ । ‘बीचमा जनशक्ति र बजारका कारण व्यवसाय घटेको थियो’, चौँरी पालक छिरिङ शेर्पाले भने, ‘पशुपालनमा युवाहरू आकर्षित भएको र तिब्बत लैजान सजिलो भएपछि व्यवसाय बढेको हो।’ यहाँबाट ओम्बोक्ला नाका हुँदै दुई दिनमा तिब्बतको रिउ बजार पुगिन्छ । तिब्बतीसँग यहाँका नागरिकको व्यापारिक सम्बन्ध छ ।

‘रिउमा घिउ र छुर्पीभन्दा याकका बाच्छाको माग बढेको छ’, १५ वर्षदेखि गोठ बसेका छिरिङले भने, ‘बाच्छा लिएर रिउ जान्छौं, बेच्छौं अनि चामलबाहेकका खाद्यान्न र लत्ताकपडा चौंरीलाई बोकाएर फर्किन्छौं।’ दुई वर्षसम्मका बाच्छा ७० हजारदेखि १ लाखसम्ममा बिक्री हुने उनले सुनाए । तिब्बतीले नेपाली याकका बाच्छा पाल्नका लागि किन्छन् । उताबाट माग आएपछि मात्रै यताबाट लैजाने गरिएको उनले बताए । याक र चौंरीबाटै वार्षिक ७ देखि १० लाखसम्म आम्दानी हुने गरेको अर्का किसान पासाङ शेर्पाको भनाइ छ ।

‘बच्चा पढाउन र घरखर्च धानेर बचत गर्न पुगेको छ’, उनले भने ।पशुपालनमा किसानले समस्या पनि भोगेका छन् । बेला–बेला याकलाई ज्वरो आउने, पखालाजस्ता बिराम लाग्ने गरेको छ । यस्तो बेला घरेलु उपचारबाहेक अर्को विकल्प छैन । ‘हामीले जानेको घरेलु उपचार गर्छौं’, मिलनदोर्जीले भने, ‘कहिले निको हुन्छन्, कहिले मर्छन् । कुनै एउटाको मृत्यु भयो भने त्यहीं गाडेर गोठ सार्छौं ।’

पशु चिकित्सक र पशु कार्यालयका कर्मचारी कोही आइनपुगेको उनको भनाइ छ । ‘सरकारले सहयोग गरेको छैन’, फुजुङले भने्, ‘मान्छे बिरामी हुँदा त बचाउन सकिँदैन, पशुको त के कुरा गर्नु।’ गोठको सुधार, चरन र खर्क विस्तारसँगै याकबाट लिन सकिने अन्य आम्दानीका स्रोतबारे तालिम पाए सहयोग पुग्ने किसानको अपेक्षा छ।

‘पापुङ पशुपालनको धेरै सम्भावना भएको ठाउँ हो । यहाँ दुई दर्जनभन्दा बढी समथर खर्क र चउर छन् । त्यहाँ पालिरहेका किसानलाई सहयोग गरे अन्यलाई पनि हौसला हुन्छ’, मिक्वाखोला गाउँपालिका ५ पापुङका वडाध्यक्ष डण्डुृ शेर्पले भने, ‘यसबाट किसानलाई त फाइदा हुन्छ नै, स्थानीय सरकारले पनि फाइदा लिन सक्छ ।’

आगामी वर्ष उन्नत जातको याक बीउका लागि बजेट विनियोजन गर्ने उनले बताए । यसका साथै सीमान्तकृत तोक्पेगोला जातिको बस्ती र उनीहरूको रहनसहनका साथै गोठलाई पनि पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना रहेको उनले सुनाए ।