काठमाडौँ/ पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनालाई श्रद्धाञ्जली दिन उनीहरुको शव टुँडिखेलमा ल्याइएको छ ।
त्रिवि शिक्षण अस्पतालबाट शव यहाँ ल्याइएपछि श्रद्धाञ्जलीको कार्यक्रम शुरु भएको छ । श्रद्धाञ्जली दिन मृतकका परिवार, आफन्तजन, शुभेच्छुकको भीड लागेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको पार्थिव शरीरमा भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरे । सो अवसरमा प्रधानमन्त्री ओलीले मन्त्री अधिकारीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा झण्डा ओढाए ।
नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि अधिकारीको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गरे । नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्री प्रचण्डले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यसमेत रहेका मन्त्री अधिकारीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाए ।
मन्त्री अधिकारीलगायत सातै जनाको पार्थिव शरीरमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा एवं मन्त्रीहरुले श्रद्धाञ्जलि अर्पण गरे ।